विदुर, १३ भदौ-अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर नुवाकोटमा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।
जिल्लाको बेलकोट १ अमारेमा बिहीबार राति करिब २ बजेतिर गएको पहिरोमा पुरिएर २७ वर्षीया गंगा ढकाल तथा उनका छोरा ७ वर्षीय नवीन र छोरी ३ वर्षीया गरिमाको ज्यान गएको हो ।
पहिरोमा पुरिएर गम्भीर घाइते भएका तीनैजनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।
राति घरमा सुतिरहेका उनीहरुलाई ५० मिटरमाथिबाट खसेको पहिरोले पुरेको उनले बताए । पहिरो आएको समयमा घरबाहिर रहेका कारण मृतक गंगाका श्रीमान नवराज ढकाल भने बाँच्न सफल भएका छन् । पहिरोले स्थानीयको दुई सय रोपनीभन्दा बढी धानखेत बगाएको छ ।
पहिरो गएको स्थानमा प्रहरी, स्थानीय र रेडक्रसका प्रतिनिधिले उद्धार गरेका थिए । पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग पहिरो पन्छाएर प्रहरीले सुचारु गराएको छ ।