इलाम, १३ भदौ- नेपालमै प्रतिबन्धित विषादीको इलाममा भने खुलेआम बिक्रीवितरण भइरहेको छ ।
जिल्लाका विभिन्न बजारहरुमा रहेका एग्रोभेटहरुले प्रतिबन्धित विषादीको खुलेआम बिक्रीवितरण गरिरहेको भए पनि स्थानीय प्रशासन रमिते बनेर बसेको छ ।
इलाम नगरपालिकासहित सूर्योदयन नगरपालिका, मंगलबारे, दानाबरी, फिक्कल र श्रीअन्तुलगायत स्थानमा रहेका एग्रोभेटहरुले प्रतिबन्धित विषादी बिक्रीवितरण गरिरहेका छन् । जिल्ला विषादी व्यवस्थापन समितिले हालै गरेको अनुगमनका क्रममा प्रतिबन्धित विषादी गैरकानुनी तवरले बिक्रीवितरण भइरहेको पाइएको हो । समितिले मानव स्थास्थ्यका लागि अतिहानिकारक मानिएको मोनोक्रोटोफस सहित मेटासिड, डीडीटी, बीएसी र फोस्किनजस्ता विषादी बिक्रीवितरण भइरहेको जनाएको छ ।
किसानहरुले चिया र गोलभेंडामा त्यस्तो विषादीको प्रयोग गरेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय इलामका बाली संरक्षण अधिकृत बुद्धिराम भट्टराईले बिनाइजाजत सञ्चालित एग्रोभेटहरुले प्रतिबन्धित विषादीका साथै म्याद गुज्रिएका बिउबिजन र किटनाशक औषधि बिक्री गरिरहेको भेटिएको बताए ।