काठमाण्डु, १३ भदौ हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजअन्र्तगत आज गणेश चतुर्थी, गणेशको पूजाआराधना गरेर मनाइँदैछ ।
शिव पार्वती पुत्र गणेशको जन्मोत्सवका रुपमा देशका विभिन्न स्थानमा रहेका गणेश मन्दिरमा पूजा गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । बुधबार राति दर खाएका विवाहित महिलाले श्रीमानको दीर्घायुको कामना गरेर र अविवाहितले असल पति पाऊँ भन्ने कामनासहित निरहार ब्रत बसेका थिए ।
उनीहरुले बिहानै नदी, तलाउ तथा कुण्डहरुमा स्थान गरी दतिवनदे दाँत माझेका छन् । यसैबीच आज राति नेवार समुदायले चन्द्रमालाई चथाःद्य या चोर देवताका रुपमा पूजा गर्ने गर्दछन् ।
आजको रातमा चन्द्रमालाई हेरेमा चोरीको दोष लाग्छ भन्ने जनविश्वास रहिआएको छ । यस्तै आज तराईका जिल्लामा चौठ चाँद पर्व श्रद्धापूर्वक मनाइँदैछ ।
चन्द्रमा कलंकित भएको धार्मिक मान्यताअनुरुप मिथिलाञ्चलवासी चौठीका दिन चौठ चाँद पूजा गर्दछन् ।
खीर, पुरी, दही, मिठाई, फलफुल, नेवैद्यलगायत चौठीको साँझ चन्द्रमालाई अर्घ दिएर पूजा गरिन्छ । दिनभर उपवास बसेको महिलाले अर्घदान गरेपछि घरका सबै सदस्यले प्रसाद र सुन चाँदीका चन्द्रमा हातमा राखेर अर्घ दिने चलन छ ।