डाक्टरले बिरामी जाँचेको ५ सयभन्दा बढी लिन नपाउने

काठमाण्डु टुडे २०७१ भदौ १३ गते १:५४ मा प्रकाशित

काठमाण्डु,१३ भदौ मुस्किलले पाँच मिनेट बिरामीको कुरा सुन्ने डाक्टरले नाडी छामेको भरमा हजार रुपैंयाँ भन्दा बढी शुल्क लिने गरेका उदाहरण प्रशस्तै छन् ।
यही मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तक्रिर्या नगर्ने प्रवृत्ति रोक्न सरकारले स्वास्थ्य सेवा शुल्कमा सीमा तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले डाक्टरको डिग्री र अनुभवका आधारमा उनीहरुले लिन पाउने अधिकतम सेवा शुल्कको सीमा निर्धारण गरेको हो । सरकारको सेवा शुल्क निर्धारण समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट बुधबार स्वीकृत भएको यससम्बन्धी निर्देशिका यही असोज १ देखि लागू हुनेछ ।
निर्णयअनुसार एमबीबीएस पास गरेका डाक्टरले २ सय ५० रुपैंयाँ शुल्क लिन पाउनेछन् । त्यसपछि अनुभव र शैक्षिक योग्यताको आधारमा शुल्क बढ्दै जानेछ । एमडी, एमएस र त्यो भन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षभन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैंयाँसँम्म शुल्क लिने पाउँनेछन् ।
एमबीबीएसपछि पाँच वर्षभन्दा बढी अनुभव प्राप्तले ३ सय, विशेष तहको तालिम, पोष्ट ग्राजुएट डिप्लोमा गरेका डाक्टरको हकमा पाँचवर्षे अनुभवसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ । एमडी, एमएस र त्यो भन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकोले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन् ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us