काठमाण्डु, १२ भदौ- एकीकृत माओवादी नेता बाबुराम भट्टराईले भोकै ब्रत बसेर स्वास्थ्य जोखिममा नपार्न नेपाली महिलाअरुलाई आग्रह गरेका छन् ।

हरितालिका तीजका अवसरमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले ब्रत बसेर फल मिल्ने भ्रम त्याग्न आग्रह गरेका हुन् । पानीसमेत नपिई ब्रत बसेर आफ्नो स्वास्थ्यलाई जोखिममा पार्ने अन्ध विश्वासलाई सबैले त्याग्नै पर्ने उनको भनाइ छ ।
उनले महिलाले पुरुषको दीर्घायुको कामना गरेर जति ब्रत बसे पनि महिलाको तुलनामा पुरुषको औसत आयु कम रहेको तथ्यमा ध्यान दिन भनेका छन् ।
भट्टराईले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन्- तीजको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीवहिनीहरुमा सुखसम्वृद्धि र दीर्घायुको । हार्दिक शुभकामना!
अबको आधुनिक युगमा महिलाहरुले पुरुषको दीर्घायुकालागि पानी समेत नपिई व्रत बसेर आफ्नो स्वास्थ्यलाई जोखिममा पार्ने अन्धविश्वासलाई त्याग्नैपर्छ।
महिलाहरुले जतिसुकै पार्थना गरे पनि नेपालमा पुरुषहरुको औषत आयु महिलाको भन्दा कम रहेको तथ्यलाई ध्यान दिने हो कि ?