काठमाण्डु, १२ भदौ- आज हिन्दू महिलाहरुले निराहर ब्रत बस्दै भगवान शिवको पुजा आराधना गरी हरितालिका तीज मनाउँदैछन ।
हिमालय पर्वतकी पुत्री पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवासलाई पछ्याउँदै हरितालिका तीज मनाउने गरिन्छ ।
हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने तीजमा बिबाहित नारीले पतिको दिर्घायुको कामना गरी निराहार ब्रत बस्ने गरेका छन भने अविवाहिता युवतीहरु भने असल पतिको कामना गर्दै ब्रत बस्ने प्रचलन छ ।
हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । भगवान शिवको पुजा आराधानाका लागि आज काठमाडौंको पशुपतिसहित दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिवालयहरुमा ब्रतालु महिलाहरुको घुँइचो लागेको छ ।
नारी स्वतन्त्रताको प्रतीकको रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरुले भगवानको आराधनासहित आजका दिन तीजको गीतहरु गाउँदै रमाईलो गर्ने चलन पनि छ । केही वर्षयता तीज आउनुअघि नै भड्किलो रुपमा दर खाने र उपहार दिने क्रमले गर्दा यो पर्व आर्थिक रुपले समृद्धले मात्र मनाउनु पर्ने अवस्था आउनेमा चिन्ता पनि गर्न थालिएको छ ।
तर, यो वर्ष भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भड्कीलो रुपमा पर्व मनाउने माथि निगरानी गर्ने बताएपछि तुलनात्मक हिसावमा कम भड्कलिो देखिएको विज्ञहरुले बताउका छन । विभिन्न अनावश्यक खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने आम महिलाले बताएका छन् । सरकारले आज तिजका लागि महिलाहरुलाई सार्वजनिक विदा दिएको छ ।