काठमाण्डु, १२ भदौ–जेललाई सुधारगृह बनाउने उद्देश्यसहित सरकारले जघन्य प्रकृतिका अपराधको सजाय भोगिरहेका कैदी बन्दीलाई राख्न छुट्टै जेल बनाउने भएको छ । बाँकेको नौवास्तामा तीनहजार कैदी क्षमताको नयाँ जेल बनाउने प्रक्रियालाई सरकारले अघि बढाएको छ ।
गम्भीर र सामान्य अपराधमा लागेकालाई एकै ठाँउमा राख्दा जेल अपराधको कारखाना बन्दै गएको भन्दै कारागार व्यवस्था विभागले गम्भीर अपराधमा संलग्नका लागि छुट्टै जेल बनाउन लागेको हो । विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालाका अनुसार यही वर्षबाट जेल निमार्णको प्रक्रिया सुरु हुनेछ ।
कर्तव्य ज्यान,जबरजस्ती करणी,लागुऔषध,अपहरण,मानवबेचविखन,आतंकवादी गतिविधिजस्ता अपराधलाई जघन्य प्रकृतिका अपराध मानिन्छ । यस्ता अपराधी सामान्य अपराधमा जेल परेका भन्दा बढी खतरनाक हुने र अरुलाई पनि पेसेवर अपराधी बनाउन सहयोग गर्ने भएकाले उनीहरुका लागि छुट्टै जेल बनाउन लागिएको हो ।
पछिल्लो समय जेल अपराधको केन्द्र बन्दै गएको भनेर आलोचना हुँदै आएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । विगतमा सामान्य अपराधमा जेल परेकाहरु छुटेपछि जघन्य अपराधमा संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ ।