
काठमाण्डु, ११ भदौ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले आन्तरिक रुपमा खपत हुने नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले विकास निर्माणको आधारभूत सामाग्रीहरुको आपूर्ति ठप्प हुँदा समेत सरकार र क्रसर उद्योग तथा ढुँगा एवं बालुवा खानीको संचालकहरुबाट निर्णायक पहल नगरेकोे आरोप लगाउँदै छिट्टै आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष अर्जुन रानाभाटले सरकार तथा क्रसर उद्योग व्यवसायीहरुले समस्याको समाधानका लागि उपर्युक्त भूमिका निर्वाह नगरेको कारण यस्तो समस्या आएको बताएका छन् ।
रानाभाटले विस्तारै ढुँगा, गिट्टी तथा बालुवा मात्रै नभएर विकास निर्माणमा अत्यावाश्यक सामाग्री सिमेन्ट र छड पनि बन्द भएपछि लामो दुरीका ढुवानी गर्ने ट्रकहरु पनि बन्द हुने बताउँदै देशमा कालाबजारीहरुको ब्रम्हलुट हुने ठोकुवा गरे ।
उनले भने–युद्धस्तरमा काम हुने वेला सरकार कानमा तेल हालेर बसेको छ । हामीले सरकारलाई पटक–पटक आग्रह गर्दा पनि हाम्रो सुनुवाई भएन् । त्यसैले अब हामी आन्दोलनमा जाँदैछौ ।
महासंघले आन्तरिक रुपमा खपत हुने नदीजन्य निर्माण साम्रगीको सहज आपूर्तिको व्यवस्था गुर्नुपर्ने, बेरोजगार यातायात साधन र मजदुरहरुलाई यथोचित राहतको व्यवस्था गरिनुपर्ने, सरकारले तोकेको भाडा सहज रुपमा कार्यान्वयन गर्नुपर्ने, मालवाहक सवारी साधनका लागि उचित पार्किङ्को व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
त्यस्तै महासंघले आगामी भदौ १२ र १३ गते सम्बन्धीत मन्त्रालय र राजनीतिक पार्टीका नेताहरुलाई भेट्ेर ज्ञापन पत्र बुझाउने र भदौ १४ , १५ र १६ गते सवारी साधनमा कालो झण्डा राख्ने र व्यापक प्रचार प्रसार गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरुको घोषणा समेत गरेको छ ।