
जनकपुर, ११ भदौ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीतन्त्रमा सुशासन कायम गर्न खोज्दा कर्मचारी संयन्त्रमा भूकम्प आएको बताएका छन् ।
कुम्हार जातीय कुटी र पण्डित परिवारद्वारा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।
मन्त्री पण्डितले ग्रिनकार्ड र पिआर बोकेका कर्मचारीलाई दोहोरो राष्ट्रियता त्याग्न आग्रह गरेका थिए । साथै कमाउ अड्डामा पर्दा काम गर्ने , कमाइ नहुने अड्डा परे झोला बोकेर विदेश जाने जस्ता राष्ट्रहित विपरीत काम नगर्न सुझाव दिएका थिए ।
‘जनसेवकको भावनाले काम नगर्ने कर्मचारीलाई पदमा रहने अधिकार छैन’, मन्त्री पण्डितले भने, ‘कर्मचारी वर्गले आफ्ना कमी कमजोरी सुधार्दै सुशासनको पक्षमा लाग्नु जरुरी भइसकेको छ ।’
कुम्हार जातीय कुटी समितिका उपाध्यक्ष रामविलास पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा सहप्राध्यापक रामसागर पण्डितले अफ्ना पूर्वजहरु समृद्ध भएपनि एकआपसमा सिर्जित द्वेषका कारण जातीय एकतामा समस्या आएकोतर्फ ध्यानाकर्षण गराए ।