सूचना आयोगमा तत्काल पदाधिकारी नियुक्ति गर : महासंघ

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, ११ भदौ – नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगमा रिक्त पदाधिकारीको पदपूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

fnj logoआयोगमा दुई वर्षदेखि प्रमुख आयुक्त र १५ महिनादेखि आयुक्तविहीनताको अवस्था रहेको छ ।

महासंघका अध्यक्ष महेन्द्र विष्टले बुधबार प्रेस वक्तब्य जारी गर्दै आयोगमा तत्काल पदपूर्तिको निम्ति औपचारिक प्रक्रिया सुरू गरिदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

अध्यक्ष विष्टले लामो समयदेखि आयोग नेतृत्वविहीन रहँदा आम नागरिकको सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनमा गम्भीर असर परिरहेको स्पष्ट भए पनि आयोगमा पदपूर्तिको औपचारिक प्रक्रिया प्रारम्भसमेत नहुँदा पदीय हिसावले र व्यक्तिगतरूपमा समेत असहज महसुस भैरहेको प्रेस वक्तब्यमा उल्लेख गरेका छन् ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा २७ ले प्रत्याभूत गरेको नागरिकको सूचनाको हकको व्यवस्थालाई प्रचलनमा ल्याउन बनेको सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले उक्त पदपूर्तिका लागि व्यवस्थापिका–संसदका सभामुखको अध्यक्षतामा सूचना तथा सञ्चारमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहेको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us