काठमाण्डु, ११ भदौ– सिन्धुपाल्चोकको महांकाल गाविसमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
अर्का एकजना बेपत्ता भएका छन् । राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोले महांकाल–६ बोल्ठेका दीलबहादुर तामाङको घर बगाउँदा ३२ वर्षीय दीलबहादुरसहित छोरी १३ वर्षीया एलिसा र छोरा चार प्रशान्तको ज्यान गएको हो ।
राति पहिरोमा पुरिएका उनीहरु आज बिहान मृत भेटिएका हुन् । मृतक दिलबहादुरका बाबु भने बेपत्ता छन् । राति दिलबहादुरकी श्रीमती भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।
नुवाकोटको सीमानामा पर्ने सो गाविस सदरमुकाम चौताराबाट टाढा पर्ने भएकाले उद्धारका लागि प्रहरी बिहान अबेर मात्र घटनास्थल पुगेको थियो ।
पर्वतमा पनि चार बेपत्ता
उता पर्वत सदरमुकाम कुस्मा नजिकै गएमो पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । कुस्मा–१८ का हरिलाल चापागाईंंको घर आज बिहान सात बजेको समयमा आएको पहिरोले घर पहिरोले पुरिँदा घरमा रहेका ४ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा हरिलालकी श्रमती पुतली, तीजको दर खान आएकी छोरी जमुना पौडेल र नातिनी बेपत्ता भएका हुन् । घरबाहिर भएका कारण हरिलाल भने बाँच्न सफल भएका छन् । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको खोजीकार्य जारी राखेका छन् ।