काठमाण्डु, ११ भदौ– हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याए वा अरु कसैले प्रयोग गरेमा त्यस्तो व्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ
पर्ने भएका छन् ।
राहदानी विभागले हराएका राहदानीको विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबारदेखि थालेको हो । राहदानी हरायो भनी आवेदन दिनेको संख्या बढेपछि त्यसको नियन्त्रण र दुरुपयोग रोक्न विभागले राहदानी नम्बर नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा राख्न थालेको हो ।
‘सबै प्रक्रिया पूरा भो, अब हराएका सबै राहदानी नम्बर इन्टरपोलमा रहनेछ,’ विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने ।‘ एउटै व्यक्तिले ६ महिनामा तीन/चारवटा सम्म राहदानी लिन थालेपछि विभागले यस्तो निर्णय लिएको हो’ उनले भने ।
म्यानपावरमा राहदानी बुझाउनु नपर्ने भए पनि नेपालीले राहदानी बुझाउने प्रवृत्ति भएकाले हराउने समस्या आएको विभागका एक अधिकारीले बताए । स्रोतका अनुसार केही व्यापारीले जानेर वा नजानी तीन चारवटा राहदानी बनाएर बसेका छन् ।
कान्तिपुर दैनिकबाट