काठमाण्डु, १० भदौ–व्यवस्थापिका–संसदका १२ समितिमध्ये विधायन समितिबाहेक ११ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
संसद सचिवालयका तर्फबाट मंगलबार साँझ विज्ञप्ता जारी गरी ११ समितिका सभापति निर्विरोध निर्वाचित भएको जनाएको हो ।
बुधबार हुने निर्वाचनका लागि संसद सचिवलयले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकको थियो । उक्त समयमा ती समितिमा एक जनाबाहेकको उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएका हुन् । प्रमुख दलबीच भागबण्डामा मिलेकाले समिति सभापतिमा एकभन्दा बढीको उम्मेदवारी नपरेको हो ।
निर्विरोध निर्वाचित हुने सभापतिहरुमा रवीन्द्र अधिकारी विकास समिति, गगन थापा कृषि तथा जलस्रोत समिति, प्रकाश ज्वाला अर्थ समिति, प्रभु साह अन्तर्राष्ट्रिय समिति, भीष्मराज आङदम्बे उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति, सुशीलकुमार श्रेष्ठ सामाजिक न्याय तथा मानव अधिकार समिति, रन्जुकुमारी झा महिला, बालबालिका तथा समाजकल्याण समिति, दिलबहादुर घर्तीमगर राज्यव्यवस्था समिति, जनकराज चौधरी वातावरण समिति, शेरधन रार्इ सुशासन समिति र कुलबहादुर गुरुङ संसदीय सुनुवार्इ विशेष समिति छन् ।
साना दलको भागमा परेको विधायन समितिमा भने विवाद भएको छ । उक्त समितिको सभापतिमा समाजवादी जनता पार्टीका सभासद प्रेमबहादुर सिंह र थरुहट तरार्इ पार्टीकी भासद गंगा चौधरीले उम्मेदवारी दिएका छन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा भने एमाओवादी सभासद जर्नादन शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।