प्रचण्ड चिढिएपछि किन भेटे सुशीलले वैद्य ?

काठमाण्डु टुडे २०७१ भदौ १० गते १३:१९ मा प्रकाशित

काठमाण्डु, १० भदौ- प्रधामनमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच मंगलबार भेटवार्ता भएको छ ।

sushil-baidhya
कोइरालालाई भेट्न वैद्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कार्यकर्ता प्रशिक्षणका लागि पाल्पा पुगेका वैद्यलाई कोइरालाले टेलफोन गरी काठमाण्डु बोलाएका हुन् ।

कोइरालाले आइतबारै भेट्न चाहे पनि वैद्य सोमबार मात्र काठमाण्डु आएका थिए । एकीकृत माओवादीले प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्यवन नगरेको भन्दै सत्तारुढ घटकसँग वार्ता र छलफल अस्वीकार गरेलगत्तै कोइरालालाई वैद्यलाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रियामा सहयोग गर्न वैद्यलाई आग्रह गरेका थिए । जवाफमा वैद्यले वर्तमान संविधानसभाबाट संविधान जारी हुन नसक्ने भन्दै सर्वपक्षीय राष्ट्रिय सम्मेलन आयोजना भए मात्र संविधान लेखनमा सकारात्मक भूमिका खेल्ने बताएका थिए । उनले वर्तमान संविधामनसभा विघटनको माग दोहोर्‍याए ।

‘प्रधानमन्त्रीले संविधान लेखनमा सहयोगको आग्रह गर्नुभयो’, भेटमा सहभागी नेकपा–माओवादीका सचिव देव गुरुङले काठमाण्डु टुडेसँग भने, ‘हामीले सर्वपक्षीय राजनीतिक सभाको माग गर्‍यौं ।’ सर्वपक्षीय सम्मेलनको मोडालिटीबारे छलफल गर्ने सहमति भएको जानकारी गुरुङले दिए ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाहिर रहेका दलहरुलाई पनि संविधान लेखन प्रक्रियामा सहभागी गराउने क्रममा नेकपा–माओवादीसँग छलफल थालेको बताए ।

उनले नेकपा–माओवादीले सर्वपक्षीय सभाको माग राखेको जानकारी दिए । वैद्यसँगको भेटपछि प्रधानमन्त्री कोइरालाले बुधबार काँग्रेस, एमाले, एकीकृत माओवादी र नेकपा–माओवादीको संयुक्त बैठक बोलाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us