उद्योग वाणिज्य महासंघविरुद्ध सुपारी किसान आमरण अनशन बस्ने

काठमाण्डु टुडे २०७१ भदौ १० गते १०:१५ मा प्रकाशित

काठमाण्डु, १० भदौ – नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङ्का सुपारी किसानहरुले आगामी भदौ १६ गतेदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

supariमंगलबार रिपोर्टर्स क्लब नेपालमा सुपारी खेती विकास संस्था कृषि विकास संघ नेपाल, झापा, अनारमणि फलफूल तथा सुपारी तथा विकास संस्था, झापा र पूर्वाञ्चल फलफुल तथा खेती प्रर्वद्धन एवं मोरंगले मङगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर महासंघले आगामी १५ दिनभित्र निर्णय नसच्चाएमा भदौ १६ गतेबाट महासंघ परिसरमै आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

उनीहरुले सुपारी तस्करीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पक्ष संलग्न रहेको भन्दै करोडौंको चलखेल तर्फ बढेको समेत आशंका व्यक्त गरेका छन् ।
कार्यक्रममा सुपारी खेती विकास संस्था, कृषि विकास संघ, नेपाल झापाका अध्यक्ष विष्णु शिवाकोटीले २०६८ को मापदण्ड भित्र परेका कृषकहरुका प्रतिनिधिमुलक संस्थाहरुलाई व्यवस्थापन गरी निर्यात सम्बन्धी अधिकार प्रत्यायोजन नगरेको आरोप लगाएका छन् । शिवाकोटीले भने–महासंघका नेतृत्वकर्ताले झापा र मोरङमा पूरानै संस्थालाई गैर कानुनी ढंगले उत्पतिको प्रमाण पत्र जारी गर्ने निर्णय फिर्ता लिनुपर्छ । यो सरासर गैरकानुनी हो ।

त्यस्तै अनारमणि फलफुल तथा सुपारी खेती विकास संस्था, झापाका अध्यक्ष मेघराज ढकालले पनि महासंघले सुपारी सम्बन्धी कार्यविधि २०६८ अनुसार काम नगरेको भन्दै एकाधिकार लागु गर्न खोजेको आरोप लगाएका छन् । उनले भने–यो निर्णय बन्द कोठाभित्र भएको हो । कृषकहरुको सही मर्का र विवरण नबुझी गरेको निर्णय हामीलाई मान्य छैन । यो महासंघको ज्यादती हो ।

पूर्वाञ्चल फलफुल तथा खेती प्रर्वद्धन एवं मोरंगका अध्यक्ष प्रेम रिमालले एउटा संस्थालाई मात्रै उत्पतिको प्रमाण पत्र जारी गराएकोमा आपत्ति जनाउादै महासंघको गलत एवं गैर कानुनी निर्णयलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले रोक लगाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले सुपारी सम्बन्धी मापदण्ड लागू गर्नुपर्ने, किसानहरुलाई साक्षी राखेर निर्णय गर्नुपर्ने, एकाधिकार हटाउनुपर्ने लगायतका ७ बुादे मागहरु अघि सारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us