भक्तपुरमा प्रहरीकाे सहयाेगमा अवैध बालुवा खानी सञ्चालन

काठमाण्डु टुडे २०७१ भदौ १० गते ५:१४ मा प्रकाशित

भक्तपुर, १० भदौ – भक्तपुर जिल्लाको दुवाकोटमा अवैध बालुवा खानी सञ्चालन हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । जिल्ला विकास समिति भक्तपुरको अनुमतिबिना बालुवा खानी सञ्चालन गर्न नपाउने नियम भए पनि पाँच ठाउँमा अवैध बालुवा खानी सञ्चालन भइरहेको दुवाकोटका कपिलदेव मिश्रले जानकारी दिए ।

विगतमा जिविसबाट ठेक्का लिएर बालुवा खानी सञ्चालन गर्दै आएका ठेकेदारले नै वर्षाको समयमा पनि अवैध रुपमा बालुवा खानी सञ्चालन गर्दा पनि जिल्ला विकास समितिले भने कुनै कारबाही चलाएको छैन ।

जिविसले वर्षामा बालुवा खानी सञ्चालन बन्द गर्ने र हिउँद लागेपछि मात्रै खानी सञ्चालनका लागि अनुमित दिँदै आएको छ । यसवर्ष पनि कात्तिकदेखि खानी सञ्चालन गर्ने गरी ठेक्का लाएपनि ठेकेदारले अहिले बालुवा खानी सञ्चालन गर्दै आएकाले नै जिविसको नियम मिचेर बालुवा बिक्री गर्न थालेका हुन् ।

जिविसले ठेक्कामा लगाउने खानीमा नभई अन्य जग्गामा मनोमानी रुपमा बिना स्वीकृति विगत एकमहिनादेखि बालुवा झिकेर बिक्री गर्न थालेका छन् । वर्षाको समयमा पनि स्काइभेटर नै प्रयोग गरी बालुवा झिकेर बिक्री गरेको मिश्रले जानकारी दिए ।

ठेकेदारले वर्षामा बालुवा पखाल्ने मेसिन (वासिङ मेसिन) सञ्चालन गर्दा स्थानीय बासिन्दालाई हिँड्नसमेत मुश्किल परेको दुवाकोटका नारायणबहादुर कपालीले बताए । अवैध बालुवा खानी सञ्चालन र वासिङ मेसिन सञ्चालनले बोडेबाट दुवाकोट सरस्वतीखेत जाने सडक सयौँ ठाउँमा तीन फिट गहिरो खाडल परेको छ । ग्राबेल गरेको सडकबाट दैनिक ट्रिपरमा बालुवा लोड गरेर लैजाँदा एकमात्र सडक हिलाम्मे तथा खाल्डो नै खाल्डो भएको छ ।

स्थानीय विकास अधिकारीको मिलेमतोमा अवैध बालुवा खानी सञ्चालन भएको जिविस स्रोतले जनाएको छ ।

खानी सञ्चालनमा प्रहरीको समेत मिलेमतो रहेको पाइएको छ । खानी सञ्चालकले अवैध रुपमा झिकेको बालुवा जिविसले प्रमाणित गरेको रसिदमा काट्नुपर्नेमा एउटा डिपोको रसिद काटेर लाने गर्दा पनि प्रहरीले बेवास्ता गरेको छ ।

एकसाता अघि मात्रै महानगरीय प्रहरी वृत्त थिमिका प्रहरीले अवैध रुपमा ल्याइएको आठ ट्रिप बालुवा नियन्त्रणमा लिए पनि वृत्त इन्चार्जले कारबाही नै नगरी बालुवा छोडेको प्रहरीले नै गुनासो गरेको छ ।

प्रहरीले अवैध बालुवा नियन्त्रणमा लिए पनि माथिल्लो निकायले कारबाही बिना नै आर्थिक प्रलोभनमा परेर छाडिदिने गरेपछि बालुवा नियन्त्रणमा लिनसमेत छाडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us