काठमाण्डु, १० भदौ– भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले नेपालले बाढीबारे पूर्वसूचना नदिएका कारण भारतीय भूमि डुबानमा परेको
आरोप लगाएका छन् ।
उनले नेपालसँग बाढीबारे पूर्वसूचना माग्न नसकेको भन्दै केन्द्र सरकारको समेत आलोचना गरेका छन् । उनले नेपालका नदीहरुमा आएको बाढीका कारण उत्तर प्रदेशसहित भारतका विभिन्न राज्य डुबानमा परेको भन्दै तत्काल समस्या समाधानको पहल थाल्न केन्द्र सरकारको ध्याानकर्षण गराएका छन् ।
बाढीका कारण डुबानमा परेका उत्तर प्रदेशका विभिन्न क्षेत्रको स्थलगत भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालका नदी नियन्त्रणका लागि सीमा क्षेत्रमा बाँध निर्माण गरिनुपर्ने बताए ।
नेपालसँग समन्वय गरेर तत्काल बाँध निर्माणको काम थाल्न उनले केन्द्र सरकारसँग माग गरे । वर्षातसँगै हालै आएको बाढीका कारण उत्तर प्रदेशमा ९० जनाको मृत्यु हुनुका साथै करोर्डौंको भौतिक क्षति भएको थियो ।