काठमाण्डु, १० भदौ– ‘बा, म काठमाण्डु आइपुगेँ ।’ मलेसियामा ११ महिना बन्दी जीवन बिताएका रुपन्देहीका मनोज कुँवरले सोमबार काठमाण्डु आर्लिनेबित्तिकै आफ्ना पितालाई फोन गरे ।
बुबाको मुख हेर्ने दिन परदेशको जेलमा रहेका छोराको स्वर सुन्न पाउँदा बुबाले फोनमै डाँको छाडेपछि मनोजले पनि आफूलाई थाम्न सकेनन् । नेपाल एयरलायन्सको उडानबाट बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना काठमाण्डुमा सबेरैदेखि दर्केको पानी विस्तारै टिपटिपाइरहेकै थियो ।
यात्रा छाड्न र लिन आएकाहरुले छाता बन्द गरेका थिएनन् । गाडीका बाइफर चलेकै थिए । ११ महिनापछि एकअर्काको स्वर सुनिरहेका यी बाबुछोराको आँखाबाट पनि अबिरल साउन–भदौ बर्सिंदैथियो ।
‘म आइपुगेँ बा’ मनोजले अवरुद्ध गला सफा गर्दै भने ।’ आजकै दिन तेरो स्वर सुन्न पाइयो’, ५८ वर्षीय पिता चन्दबहादुर पनि सुक्सुकाए,‘ अब छिट्टै घर आइज यहाँ सबै हामी तलाई पर्खिएर बसिरहेका छौं ।’
मनोजले केही जवाफ दिन सकेनन् , सायद उनीसँग थिएन । उनी घरका कति धेरै गर्जो टार्ने सोचेर विदेशिएका थिए होलान् । बूढेसकाल लागेका बुबाको औषधोपचार गर्नु थियो होला । पत्नीको चाहना पूरा गर्नु थियो होला ।
यी सबै चाहनाका लागि छोराले मलेसियाबाट पठाउने पैसाकै प्रतिक्षा थियो होला । दुई वर्षअघि कैयन सपना सजायर मलेसिया पुगेका मनोज सोमबार फर्कंदा भने एकसरो लुगाबाहेक उनीसँग बाँकी केही पनि थिएन ।
मलेसिया सरकारले ‘गैरकानुनी रुपमा बसेको’ भन्दै धरपकड गर्दा पक्राउ परेका कुँवरसहित १० जनालाई नेपाली दूतावासले त्यहाँको लिङकिङ जेलबाट उद्धार गरी स्वदेश फर्काएको हो ।
११ महिना बन्दी जीवन बिताएका उनीहरुमध्ये कतिले त चप्पलधरि लगाएका थिएनन् । उद्धार भई फर्किनेमा कुँवरलगायत संखुवासभाका हरिप्रसाद श्रेष्ठ, मिलन श्रेष्ठ, इलामका प्रेम राई, सिरहा लहानका हसिदेबव चौधरी, सर्लाहीका तेजप्रसाद मैनाली, सप्तरीका प्रदीप मण्डल, काभ्रेका श्रीदास तामाङ, पोखराका राजकुमार सुनुवार र इटहरीका डिल्लिराम घट्टराई छन् ।
नागरिक दैनिकबाट