काठमाण्डु, ९ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संविधान निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।
सोमबार साँझ सरकारी निवास बालुवाटारमा बोलाएर उनले प्रमुख दलसँग वार्ता र छलफलमा नबस्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्री कोइराला र प्रचण्ड मात्र थिए ।
काँग्रेस–एमालले चार बुँदे सहमति कार्यान्यवन हुन नसक्ने बताएलगत्तै कोइरालाले विशेष आग्रह गरेर प्रचण्डलाई भेटका लागि बालुवाटार बोलाएका हुन् ।
आइतबार प्रधानमन्त्रीकै पहलमा बसेको प्रमुख तीन दल बैठकमा काँग्रेस–एमालले संविधानसभाको समानान्तर हुने गरी उच्चस्तरीय राजनीतिक समिति गठन हुन नसक्ने बताएपछि एमाओवादीले बैठक बहिस्कार गरेको थियो । कोइरालाको आग्रहमा प्रचण्डले पूर्वसहमति पालना नभएसम्म प्रमुख दुई दल काँग्रेस–एमालेसँग छलफलमा बस्न नसकिने दोहोर्याएका थिए ।
‘पालना नगर्ने हो भने किन सहमतिमा हस्ताक्षर गर्नुभयो ?’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनको निजी सचिवालयका एक सदस्यले काडमाण्डु टुडेसँग भने, ‘चार बुँदेसहित यसअघि भएका सबै सहमति कार्यान्वयन नभएसम्म वार्तामा बस्दैनौं ।’
उनले सहमति पालनामा अरुची देखाएर काँग्रेस–एमाले शान्ति र संविधान निर्माण प्रक्रियामा बाधक बनेको बताए । प्रचण्डको निजी सचिवालयले काँग्रेस सभापतिको हैसियतमा नभई सरकार प्रमुखका हैसियतमा कोइरालालाई भेटेको जनाएको छ ।