युक्रेनका विद्रोहीले सरकारी सेनाको हात बाँधेर गराए मार्चपास

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– पूर्वीयुक्रेनको दोनेत्सकमा रूस समर्थित विद्रोहीले सयौं सरकारी सैनिकलाई नियन्त्रणमा लिएर सडकमा मार्चपास गराएका छन् ।

ucrain
युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंले पृथकतावादी विद्रोहीसँग लड्नका लागि सरकारी सेनालाई पर्याप्त सैन्य उपकरण खरिद गर्न तीन अरब खर्च गर्ने घोषणा गरेको केही घण्टामै उक्त घटना भएको हो ।

दोनेत्सकको मध्य क्षेत्रमा पृथकतावादी विद्रोहीले सरकारी सेनाको हतियार खोसेर मार्चपास गराएका हुन् । मार्चपास गराइएका सरकारी सेनाको हात पछाडि लगेर बाँधिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अुनसार मार्चपासका बेला सडक किनारामा उभिएका सर्वसाधारणले सरकारी सेनालाई गिज्याएका थिए । केही सर्वसाधारणले सरकारी सेनालाई पानीको बोत्तलले हिर्काएर आक्रोशसमेत पोखेको रोयटर्सले जनाएको छ ।

यसैबीच युक्रेनको रक्षा मन्त्रालयले विद्रोहीले सरकारी सेनालाई नियन्त्रणमा लिएर परेड खेलाएकामा आपत्ति जनाएको छ ।

सरकारी सेना र विद्रोहीबीच केही महिनायता जारी हिंसामा २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । राजनीतिक अस्थिरताका कारण ३ लाख ३० हजारभन्दा बढी घरबार छाडेर विस्थापित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us