कास्की, ९ भदौ– अविरल वर्षासँगै कास्कीको पुम्दीभुम्दीमा गएको पहिरोले एउटा रेष्टुरेण्ट बगाउँदा चार जना बेपत्ता भएका छन् ।
पोखरा फेवाताल पारिको किनारमा रहेको टिपिकल रेष्टुरेष्ट पहिरोले बगाउँदा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर, धादिङका राम मगर र रामेछापका भुवन मगर छन् । बेपत्ता सबै रेष्टुरेण्टका कामदार थिए ।
बेपत्ताको खोजकार्य जारी छ । राति २ बजेतिर माथिबाट खरेको पहिरोले रेस्टुरेन्ट पुरेको थियो ।
पहिराेले घर भत्काउँदा तीन घाइते
पुम्दीभुम्दीमै पहिरोले घर भत्कँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३० वर्षीय कवि गुरुङ, उनका छोरा १६ वर्षीय प्रवेश र छिमेकी सूर्य गुरुङ घाइते भएका हुन् ।
उनीहरुको पोखरास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
पाँच घरमा बाढी पस्याे
यता स्थानीय फिर्के खोलामा आएको बाढी पसेपछि पोखराका पाँच घर डुबानमा परेका छन् । बाढीले घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित जिन्सी र नगदसमेत बगाएर लगेको छ ।