दाङ, ९ भदौ– दाङ सदरमुकाम घोराहीबाट गाडीमा पुग्न सकिने डुरुवा, फुलबारी र उरहरीका बाढीपीडितले विभिन्न संघसंस्थाबाट चाउचाउ र चिउरा पाइरहेका छन् तर घन्टौं हिड्नुपर्ने पुरन्धाराका विकट गाउँमा भने कोही गएका छैनन् ।
हेलिकोप्टरबाट खसालेका केही चाउचाउ र चिउराका भरमा उनीहरुले भोक मेटिरहेका छन् । न सरकार पुगेको छ, न सहयोगी संघसस्था ।
‘सहयोग गर्नेले पनि सजिलो ठाउँ खोजिरहेका छन् । गाडीमा पुग्न सकिने ठाउँमा सबै पुग्छन्, तर विकट गाउँमा कोही जाँदैन’,पुन्थाराका बाढीप्रभावित क्षेत्रबाट फर्केपछि सभासद् दीपक गिरीले भने, ‘दिनभर हिँडेर पुगिने गाउँ पनि बाढीको बिचल्लीमा छन् ।
तर उनीहरुकाबारे कसैले चासो दिएको छैन ।’ पुरन्धाराका गंगटे, मलैखोला, हुरम, सिमलकुना, कोवार्डलगायत विकट गाउँमा बाढीपीडित भोकभोकै बसिरहेको उनले बताए ।
सरकारका साथै पीडितलाई सहयोग गर्नेहरु विकट ठाउँमा नपुगेकामा गाउँमा आक्रोश रहेको सभासद् गिरीले बताए । ‘गाउँमा दर्दनाक अवस्था छ । कतिका परिवार घरमा पुरिएर पूरै सखाप भएका छन् ।
घरबास पुरिएका र मानिस मरेका खबरमात्र आइरहेका छन्’ गिरीले भने, ‘खेतीयोग्य जमिन बगेका र बाँचेकाले भोगेका कष्टकर अवस्थाका विषयमा कोही गम्भीर भएका छैनन् । बाच्नेलाई अब घरबास बनाउने ठाउँसमेत छैन । म संसद्मा यस विषयमा विशेष समय लिएर बोल्छु ।’