
काठमाण्डु, ८ भदौ –एक नाइजेरियालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै २४ घन्टा नियन्त्रणमा राखेर शनिबार बिहान फिर्ता पठाइएको छ ।
टर्कीको इस्तानबुल हुँदै आएका चिबिजेर स्ताङले ओक्पालालाई विमानस्थल हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा सुरुमा इवोला भाइरस संक्रमित भएको आशंकामा नियन्त्रणमा राखिएको थियो ।
तर पछि उनी नक्कली कागज लिएर आएको पुष्टि भएको थियो । विमानस्थल प्रहरी प्रमुख विजयलाल कायस्थले भने,‘ डकुमेन्ट फेक थियो त्यसैले फिर्ता पठायौं, इवोलाको कारणले होइन ।’
फुटबल खेलाडी बताउने ओक्पालाले मनामस्र्याङ्दी क्लबको निमन्त्रणामा आएको बताए पनि उनीसँग त्यसलाई पुष्टी गर्ने कुनै सक्कली प्रमाण थिएन । सरकारले इबोला भाइरसको संक्रमण पुष्टि भएका नाइजेरियालगायत विभिन्न ११ वटा मुलुकका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय यसअघि नै गरिसकेको छ ।
अन्नपूर्ण पोष्टबाट