एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्ः प्रचण्ड

काठमाण्डु टुडे २०८३ असार १२ गते १६:२० मा प्रकाशित

काठमाण्डू, १२ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युष्टि पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन् ।

आज (शुक्रबार) विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने समेत बताएका छन ।

प्रचण्डले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’ उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने समेत बताएका छन ।

प्रचण्डले भने, ‘अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ, सहकार्य पार्लियामेन्ट्री संघर्षमा, सडक सङ्घर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्‍याउन सकिन्छ, ‘पार्लियामेन्टमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ । त्यसकारण दोस्रो हामीले भनेका छौं सहकार्य वामपन्थीहरूसँग ।’

आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिँदै प्रचण्डले कार्यकर्ताहरूलाई बोल्ड भएर अगाडि बढ्न आग्रह गरेका छन । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए ।

‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्, ‘नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ । प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us