
काठमाण्डु, २१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना स्वकीय सचिव लक्ष्मण ढकाललाई बर्खास्त गरेका छन् ।
ढकालले मंगलबार राति पदमुक्त भएको पत्र बुझेको बालुवाटार स्रोतले जनाएको छ । उनीमाथि विश्वासघात र मर्यादा उल्लंघन गरेको आरोप छ ।
स्रोतका अनुसार उनलाई कमजोरी सुधार्न पटकपटक दिइएको चेतावनी बेवास्ता गरेको भन्दै प्रधानमन्त्री त्यस्तो निर्णयमा पुगेका हुन् ।
नाताले भान्जाका भान्जा पर्ने ढकाल लामो समयदेखि कोइरालाका सहयोगीका रुपमा थिए । ढकालको व्यवहार र शासकीय प्रस्तुतिको काँग्रेसभित्र चर्को आलोचना हुने गरेको थियो ।
ढकालले भने आफूलाई त्यसबारे कुनै जानकारी नभएको दाबी गरे । उनले आफू मंगलबार राति ९ बजेसम्म प्रधानमन्त्रीसँगै रहेको र बर्खास्त गरिएको विषयमा उनले केही नभनेको जिकिर गरे ।
‘समाचारमा सुनेर अचम्म लाग्यो’, ढकालले काठमाण्डु टुडेसँग भने, ‘प्रधानमन्त्रीसँग राति नौ बजेसम्म सँगै थिएँ, केही भन्नुभएको थिएन ।’ उनले बुधबार बिहान प्रधानमन्त्री कोइराला भेट्न बलुवाटार जाने र हटाएको भए आजै पत्रकार सम्मेलन गर्ने बताए ।