काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएको पहिलो दिन आइतबार व्यवस्थापिका–संसद् बैठकलाई विशेष सम्बोधन गरे ।
सुरुमा केही मिनेट नेपाली र त्यसपछि हिन्दीमा गरी मोदीले करिब पौने घण्टा धारा प्रवाह भाषण दिए । उनको भाषणशैली उत्कृष्ट थियो । भाषा प्रष्ट थियो र बोल्दा अनुहारमा आत्मविश्वास देखिन्थ्यो ।
मोदीको राम्रो भाषणकलाबाट नेपाली नेताहरु प्रभावित हुनु राम्रो हो । नेताहरुले मोदीको उत्तेजक भाषणको बीचबीचमा ताली नै ठोके । यतिसम्म कि मोदीले ‘नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो’ भन्दा तालीले वीरेन्द्र अन्तर्राष्ट्रि सम्मेलन केन्द्र गुञ्जयमान भयो । नेपाल सार्वभौक मुलुक हो ।
कुनै पनि सार्वभौम मुलुकले आफूलाई सार्वभौम भनिरहनु पर्दैन । अझ विदेशीले नेपाल सार्वभौम हो भन्दा ताली ठोक्नु त झनै निकम्मा कुरा हो । यसबाट नेपाली नेताहरुको मनभित्र लुकेर बसेको रहेको लघुताभाष प्रष्ट बाहिर आएको छ । मोदीले भाषणका क्रममा गौतमबुद्ध नेपालमा जन्मिएको बताए ।
त्यो सुनेर पनि नेताहरुले तालीको गडगडाहट छयो । गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा कसैले भनिदिन पर्ने हो र ? यो त शास्वत सत्यो हो ।
यस्तो विषयमा समेत गर्वले ताली ठोकेर नेपाली नेताहरुले मुलुकको कुटनीतिक छविमा दाग लगाएका छन् । मोदीले संसदमा नेपालको शिक्षा, सडक र जलविद्युत स्वास्थ्य क्षेत्रमा लगानी गर्न सहुलियतमा एक अरब ऋण सहयोग दिने घोषणा गरे । नेताहरुले उही शैलीमा ताली दिए ।
के विदेशीबाट ऋण पाउँदैमा गर्व गर्नुपर्ने हो ? त्यसमा पनि अनुदान भइदिएको भए हुन्थ्यो, पछि फिर्ता गर्ने सर्तमा ब्याजमा ऋण दिने भनेका हुन् मोदीले ।
४८ मिनेट लामो घाषणका क्रममा मोदीले नेपालमा गणतन्त्र स्वीकार गर्ने बताए । नेपाली जनताकै बलमा गणतन्त्र आएको दाबी गर्ने नेताहरुले विदेशी नेताले गणतन्त्र अनुमोदन गर्दा किन ताली बजाए ? के यस्ता विषयले नेपाली नेताहरुको मनोवृत्तिका बारेमा प्रश्न खडा हुँदैन र ?