पहिरोले गाउँ नै बगायो , ३० को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १५ गते १२:१४ मा प्रकाशित

नयाँ दिल्ली, १५ साउन – पश्चिमी भारतको महाराष्ट्र राज्यअन्तर्गत पुणे जिल्लामा पर्ने अम्बेगाउँमा गत बुधबार बिहानदेखि गएको पहिरोमा परेकालाई उद्धार गर्ने क्रम जारी रहेको छ ।

बुधबार बिहान करिब ३ बजेतिर मानवबस्ती नजिकको एक पहाड पूरै साटसुटै बग्दा अम्बेगाउँका ७०० बासिन्दामध्ये २०० भन्दा बढी पुरिएका थिए ।

यस पहिरोमा हालसम्म महिलासहित ३० जनाको शव पुरिएको ठाउँबाट झिकिएको र मृत्यु हुनेको सङ्ख्या अझै थपिन सक्ने भनी नेसनल डिसास्टर रेस्पोन्स फोर्सेका प्रमुख आलोक अवस्थीले बताउनुभएको छ । यस पहिरोमा अझै पनि १५० व्यक्ति पुरिएको बताइएको छ ।

गत मङ्गलबारदेखि परिरहेको अविरल वर्षा हालसम्म पनि थामिएको छैन ।

पहिरोमा परेको गाउँ दुर्गम स्थानमा रहेको र लामो वर्षा र हिलाम्मे बाटोले गर्दा उद्धार कार्यमा कठिनाइ उत्पन्न भए तापनि ३०० भन्दा बढी व्यक्तिको उद्धार कार्यमा दिनरात लागि परेका छन् ।

ठूलाठूला बत्तीहरु, ३० वटाभन्दा बढी एम्बुलेन्स गाडी, ठूला क्रेन, डोजर इत्यादी उद्दार कार्यको लागि प्रयोग गरिएका छन् ।

“सह्याद्रि पर्वतका रुख, चट्टान ढुङ्गा माटो सबै बगेर हिलोबाहेक माथि केही पनि बचेको छैन । यत्रो पहाड सिङ्गै खस्दा धन्न फेदीका सबै परेनन्” जिल्ला प्रशासकीय अधिकारीले बताए ।

पहाडको फेदीमा रहेको अम्बेगाउँमा करिब ७० घरधुरी पुरिएका र १५८ भन्दा बढीलाई नराम्ररी घाइते भएका पनि बताइएको छ ।

छिमेकी गाउँका सयौँ बासिन्दा आई उद्धारकर्र्मीलाई सघाइ रहेका पिटिआइले जनाएको छ ।

सहयाद्रि पर्वत र अम्बे गाउँ क्षेत्रमा गत मङ्गलबार बेलुकादेखि २४ घन्टासम्म ४.२५ इन्चसम्म आरीले घोप्ट्याएझैँ भारी वर्षा भएको थियो ।

पहिरोग्रस्त अम्बेगाउँ भारतीय औद्योगिक महानगर मुम्बइबाट १५० किलोमिटरभन्दा बढी टाढा पर्छ ।

गाउँबाट सबभन्दा नजिकको स्वास्थ्य केन्द्र पनि १५ किलोमिटर टाढा पर्दछ । सह्याद्रि पर्वत केही अघिसम्म घना जङ्गलले ढाकेको थियो ।

व्यापक वन विनासका कारण आज पहिरो गई पर्वत सिङ्गै मैदानसरह भएको भनी जानकारहरु बताउँछन् ।

एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us