मोदी भ्रमणको मुख्य एजेन्डा : पशुपति दर्शन

काठमाण्डु टुडे २०७१ साउन ११ गते १२:२३ मा प्रकाशित

भारतले यसपालि नेपाललाई विगतमा झैं हेप्न पाएन । नेपाली नेताहरु पनि भारतका narendra modiपूर्वविदेशमन्त्री एसएम कृष्णालाई भेट्न राजधानीको होटल द्ववारिकाजमा लाम लागेको दृश्य यसपालि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा पुनरावृत्ति भएन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेशमन्त्री स्वराजलाई भेट्न होटल हायात गएनन् । बरु सार्वभौमसत्ता सम्पन्न संविधानसभा भवनमा भेट्न डाके । एमाले कार्यबाहक अध्यक्षसमेत रहेका उपप्रधान एवमृ गृहमन्त्री बामदेव गौतमले होटल द्ववारिकाजमै गएर भेट्ने भारतीय पक्षको आग्रह मानेनन् र मल्ल होटलमा भेट्न पुग्दा अपमानित हुनुपर्‍यो ।

भारतीय पक्षसँग यसपालि नेपाली पक्षको समान हैसियतको डिल हुन पुगेको देखिन्छ । भारतले चाहँदैमा उर्जा सम्झौतामा नेपालले खुरुखुरु हस्ताक्षर गरेन । नेपालका तीन ठूला दलले कम्तिमा नयाँ संविधान नबन्दासम्म भारतसँग कुनै पनि ठूला सम्झौता नगर्ने सहमति गरेकाले अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण पनि पशुपतिको यात्रामा मात्र सीमित हुने भएको छ । नेपालले भारतसँग मात्र उर्जा सम्झौता गर्नुपर्ने बाध्यात्मक प्रावधानको विरोधमा मुख्य विपक्षी दल एमाओवादीलगायतका ३३ दलले स्पष्ट विरोध गरेपछि नेपाल सरकार र भारतीय पक्ष पछि हटेको हो । यसलाई नेपाली राष्ट्रियताको पक्षमा नेपालीहरुको जितको रुपमा लिन सकिन्छ । विगतमा झैं पेल पाल पारेर आफ्नो असमान सन्धि सम्झौता लाद्ने जमाना गएको पनि यसबाट भारतीय पक्ष स्पष्ट भएको हुनुपर्छ । वर्तमान सरकार एक हिसाबले संक्रमणकालको काम चलाउ सरकार हो । प्रधानमन्त्री आफैं रोगी छन् । अर्को साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली उपचारार्थ विदेशमा छन् । राजनीतिक तहमा वृहत छलफल नगरी यस्ता दुरगामी महत्वका सम्झौता गर्दा त्यसले विरोधको सामना गर्नुपर्ने अवस्थाको आङकलन गरेर नै भारत पछि हटेको हो ।

नेपाल र भारतबीच हुने भनिएको उर्जा सम्झौताको भारतीय पक्षबाट पठाइएको मस्यौदालाई नेपाल सरकारले तीन महिनासम्म गोप्य राख्यो । त्यतिबेलै बहसमा ल्याएको भए नेपालमा एउटा राष्ट्रिय सोचको विकास हुन सक्थ्यो । भारतीय प्रधानमन्त्रीको भ्रमण हुँदासम्म त्यसले आकार लिन सक्थ्यो । तर उर्जामन्त्री राधा ज्ञवालीले मस्यौदा गोप्य राखिन् । उर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सह–सचिव केशवध्वज अधिकारीले भनेका थिए, ‘यो सम्झौता गोप्य तवरबाट हुन्छ । मस्यौदामा के छ त्यो हामीले भन्न मिल्दैन ।’ त्यसैगरी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भनिएको थियो, ‘यस विषयमा द्विपक्षीय वार्ता सुरु भएकै छैन र ती मस्यौदाका प्रावधान उर्जा मन्त्रालयले सार्वजनिक गरेको छैन र गर्ने कुरा पनि होइन ’ मस्यौदा सार्वजनिक नगरिए पनि भित्रभित्र सम्झौताको खेल सूरु भयो । उर्जा मन्त्री ज्ञवालीले उपप्रधानमन्त्री बामदेव गौतमको निर्देशनमा त्यो प्रक्रिया अघि बढाए । सायद एमाले महाधिवेशनमा ओली प्यानललाई जिताउने माहौलका लागि पनि सरकारमा सहभागी एमाले गुटले भारतको ‘ताबेदारी’ गर्न गोप्य तवरले सम्झौताको प्रक्रिया अघि बढायो । प्रधानमन्त्री सुशील कोइराला भारत भ्रमणमा गएको मौका छोपी गौतमले उर्जा सम्झौता गरेरै छाडने भाषण गर्दै हिंडेपछि काँग्रेसको मनमा चिस्यो पस्यो । सूत्रका अनुसार एमालेले एकलौटी रुपमा उर्जा सम्झौताको प्रक्रिया अघि बढाएपछि नेपाली काँग्रेसले नै त्यो सम्झौताको मस्यौदा सार्वजनिक गरिदियो । जब मस्यौदा सार्वजनिक भयो, त्यसमा भएका राष्ट्रघाती बुँदाहरु पनि उदांगो भए । मस्यौदाको चौतर्फी विरोध भयो । एक महिना लामो उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री सुशील कोईरालाले उपप्रधानमन्त्री बामदेव गौतम र उर्जामन्त्री राधा ज्ञवालीलाई हप्काए । काँग्रेसलाई एक बचन पनि नसोधी सम्झौताको तयारी गरेकोमा प्रधानमन्त्रीले मन्त्री ज्ञवालीको झाँको झारेका थिए ।
कतिपय काँग्रेस नेताहरुले पनि टनकपुरमा झैं फेरि आफूहरुलाई राष्ट्रघाती साबित गर्ने एमालेको षडयन्त्र भएको भन्दै आपत्ति जनाएका थिए । ‘राष्ट्रियताको विषयमा कसैसँग पनि सल्लाह नगरी एकलौटी रुपमा अगाडि बढ्ने अधिकार एमालेलाई कसले दियो ?’ भन्दै प्रधानमन्त्रीले आक्रोश पोखे भने नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरेले मन्त्री ज्ञवालीले सरकारको नेतृत्व गरिरहेको काँग्रेससँग नै छलफल नगरी सम्झौता गर्न लागेको भन्दै चर्को विरोध जनाए । उपप्रधानमन्त्री गौतम र उर्जामन्त्री ज्ञवाली आफ्नै पार्टीमा आलोचित भए । एमालेको माधव नेपाल खेमाले महाकाली सन्धिमा लागेको दाग मेटिन नपाउँदै एमालेलाई राष्ट्रघाती साबित गर्ने खेलमा बामदेव लागेको भन्दै विरोध जनाए । अध्यक्ष ओली विदेशमा भएकाले एमाले नेता नेपाल र झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालासहितको तीन दलको बैठक बस्यो । यसले भारतसँग तत्काल कुनै पनि महत्वपूर्ण सन्धि सम्झौता नगर्ने सहमति गर्‍यो । यो निर्णयसँगै बामदेव र उर्जामन्त्री ज्ञवालीको भित्री खेलको पनि पटाक्षेप भयो ।

विदेशमन्त्री स्वराजसँग एमाओवादी अध्यक्ष प्रचण्डले स्पष्ट रुपले दुवै देशबीच राजनीतिक तहमा छलफल गरेर मात्र सम्झौता गरिनुपर्ने र कर्मचारी तहमा हुने वार्ता फलदायी नहुने आग्रह गरे । त्यसप्रति भारतीय पक्ष पनि सहमत भयो । सोनिया गान्धी नेतृत्वको भारतीय संस्थापन पक्षले नेपालसँग सदा कर्मचारी तहमा र खासगरी खुफिया एजेन्सीको रिपोर्टका भरमा सम्बन्ध राखिरहेको र छिमेकीहरुप्रति हेपाहा व्यवहार गर्दै आएको थियो । भारतको कर्मचारी प्रशासन अझै पनि अंग्रेजकालीन धङधङीबाट मुक्त हुन नसकिरहेको बेला मोदीले भारतका उच्च पदस्थ कर्मचारीलाई नयाँ युगअनुसार चल्न निर्देशन दिइसकेका छन् । मोदी नेतृत्वको सरकारले छिमेकीलाई रिझाएर अघि बढ्ने नीति लिएको र नेपाली पक्षले पनि दरिलो गरी आफ्नो राष्ट्रिय अडान राखेका कारण यसपालि भारतीय पक्ष पनि लचिलो हुन बाध्य भएको हो । स्वराज भ्रमणका क्रममा १९५० लगायतका सन्धि पुनरावलोकनको सहमतिले पनि अब नेपाल र भारतबीच नयाँ सिराबाट सम्बन्धको युग सुरु भएको देखिन्छ ।

अर्कोतिर एमाओवादीजस्तो विद्रोहबाट स्थापित शक्ति सत्ताबाहिर भएको बेला उसलाई बाइपास गरेर नेपालमा कुनै पनि सन्धि सम्झौता हुन नसक्ने पाठ पनी भारतले सिकेको छ । प्रमुख राजनीतिक दलहरुबीच सहमति नभएसम्म र खास गरी नयाँ संविधान जारी नभएसम्म नेपालमा कुनै पनि सम्झौता उचित नहुने बुझेपछि विदेशमन्त्री स्वराजले विषयान्तर गर्दै नेपालले संविधान निर्माणतर्फ जोड दिनुपर्ने बताएर स्वदेश फर्केकी छन् । मोदी भ्रमणपछि सायद नेपालको संविधान निर्माण प्रक्रियाले गति लिने र त्यसमा एमाओवादीलगायतका विपक्षी दललाई प्रक्रियाका भरमा पेल्न नहुने लविङ भारतीय पक्षबाट भएमा संविधान लेखन प्रक्रिया पनि सार्थक निष्कर्षमा पुग्नसक्छ ।

अहिले ‘प्रचण्डपथले जनयुद्ध तुहियो’ भन्ने भट्टराई प्रचण्डपथबारे पहिलो यसो भन्थे
काठमाण्डु, ११ साउन– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले सुनसरीमा शनिबार भएको एक कार्यक्रममा प्रचण्डपथका कारण जनयुद्ध बीचैमा तुहिएको अभिव्यक्ति दिए ।
नयाँ शक्तिका लागि डा. बाबुराम भट्टराई विषयक अन्र्तक्रियामा उनले प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानिएकै कारण जनयुद्ध सफल नभएको ठोकुवा गरेका थिए । तर तिनै भट्टराईले एमाओवादीको दोश्रो राष्ट्रिय सम्मेलनपछि प्रचण्डपथको पक्षमा लामो व्याख्या गरेका थिए । उनले त्यसबारे धेरै पत्रपत्रिकामा लेख छपाए र अन्तवार्ताहरु पनि दिए । त्यसमध्ये एक मासिकमा ‘प्रचण्डपथ सिर्जनशील माक्र्सवादको नवीनतम कडी’ शीर्षकमा २०५७ चैतमा छापिएको प्रचण्डथपबारेको भट्टराईको धारणा सान्दर्भिक हुने ठानेर यहाँ जस्ताको तस्तै छापिएको छ । सम्पादक–

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us