
काठमाण्डु, ६ साउन – सशस्त्र द्वन्द्वकालमा सुरक्षा निकायबाट लुटिएका हतियार माओवादीका पुर्वलडाकुले यार्सागुम्बा लुट्न प्रयोग गरेको भेटिएको छ । तत्कालिन माओवादी लडाकुले २०६० सालमा म्याग्दी आक्रमणका बेला सुरक्षाकर्मीबाट लुटेको स्वचालित एके ४७ राइफल गत असार पहिलो साता डोल्पामा यार्सा लुट्न प्रयोग गरेका हुन् ।
प्रहरी स्रोतका अनुसार पुर्व लडाकु नविन रोका मगर डोल्पामा ६ करोड मुल्य बराबरको यार्सा लुट्ने घटनामा संलग्न थिए । नविनसहितको समुह पछिल्लो पटक असार ३१ गते मनाङमा यार्सा लुट्ने योजनासहित स्वचालित हतियार लिएर गएको थियो । तर यार्सा व्यापारी सोही दिन पोखरा आएकाले उनीहरुको योजना असफल भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
‘यार्सा संकलन गर्ने सिजनमा लुटपाटका घटना हुने आशंकामा तीन स्थानमा थप पोस्ट बनाएर जाँच तीव्र बनाएका थियौं,’ डीएसपी रेग्मीले भने ।प्रहरीले लुटेरा समुह मनाङ पस्ने आशंकामा तिल्चे,याकखर्क र नेपामा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ ।
योजना असफल भएपछि मनाङबाट फर्कंदै गर्दा सीमा प्रहरीचौकी धारापानीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सेना समायोजनमा सहभागि भएर स्वेच्छिक अबकाश लिएका रुकुमका नवीन र सशस्त्र द्वन्द्वमा सुराकी गर्दै आएका उजिर रोका मगरले एके ४७,त्यसको म्यागजिन,१८ राउन्ड गोली ,चिनियाँ पेस्तोल तथा गोली र एक थान नलकटुवबा बन्दुकसहित पक्राउ गरेको हो ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।