काठमाण्डु , ५ साउन – गृह मन्त्रालयले आफूसँग भएको अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा निर्धारित समयावधिभित्र बुझाउन सर्वसाधारण जनतासँग अनुरोध गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए त्यस्ता व्यक्तिलाई आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन पाउने गरी सरकारले २०७१ साउन २ को निर्णयअनुसार विशेष व्यवस्था गरेको जनाएको छ ।
अवैध हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरासमेत मन्त्रालयले जानकारी गराएको छ ।