जनकपुरधाम, ३२ असार – मिथिलामा सांस्कृतिक पर्व मधुश्रावनीको रौनक घर आँगनमा छाइरहेको छ ।
सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।
सखी फूल लोढ चलु फूलबरिया
सीताके सँगमे सहेलिया ……….
यस पर्वमा नवविवाहिता मैथिल पुत्रीहरु यस्तै गीत गाउँदै श्रीमानले ल्याएको वा पठाएको फरिया, घोघट लगाएर सखीहरुसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रङ्गात्मक धरातलमा समेत उभ्याउने गर्छन् ।
साउन महिना आध्यात्मिक महिना हुनुका साथै धर्म ग्रन्थहरुमा साउन महिनालाई मधुमासका रुपमा स्वीकार्नु तथा वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुका साथै नाग– नागिनी र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनीको पूजामा केन्द्रित रही १३ दिनसम्म मनाइने चलन छ ।
साउन महिनाको मौना पञ्चमीदेखि सुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वकालभरि प्रत्येक दिन गौरी तथा नागनागिनीको पूजा गरी शिव पार्वती र नागसँगै सम्बन्भित कथा सुनाइने गरिन्छ ।
गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिको रुपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएका कारण यस पर्वमा गौरी तथा नागनागिनीको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् डा रेवतीरमण लाल बताउनुहुन्छ । वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवम् दीर्घ दाम्पत्य जीवन भएको पनि उहाँ स्पष्ट गर्नुहुन्छ ।
लालही वन गौरी जैती फूल लोढती
सिन्दूर भरल सोहाग बालमसँग पुजती
पीअर बन गौरी जैती फूल लोढती
पीताम्बर भरल सोहाग बालम सँग पुजती
हरियर वन गौरी जैती फूल लोढती
बेलपत्र भरल सोहाग बालमसँग पुजती
गौरीले दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी भएको तथ्य उक्त गीतको भाव रहेको प्राध्यापक डा. पशुपतनाथ झाले बताए ।
मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् पुरुषोत्तम श्रीराम जस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणअनुसार गौरीपूजनका लागि फूल टिप्ने क्रममा रामसँग सीताको भेट भएको थियो ।
नवविवाहिताहरु यस पर्वमा ह्रृदयको उल्लास उमङ्गलाई यसरी व्यक्त गर्छन् ।
भ्रमि भ्रमि लोढलनी पात तमोले
मन दय लोढलनी नव दल फूले
एक दिन भय गेल विधिक संयोगे
देखल सदाशिव करदूत यागे
कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवम् ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ ।
यो पर्व कहिलेदेखि कसले सुरु गरेको हो यकिनसाथ भन्न नसकिए पनि शिवपुराणको एउटा किम्वदन्तीका अनुसार मधुश्रावणी नामक एक नवविवाहिता युवती साधुको भेषमा शिवजीको भिक्षाटन गरिरहेको बेला आफ्नो हात देखाउन पुगिन् र उनले आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाइन् । शिव भगवान्ले तिनलाई यस प्रकारको व्रत गर्ने सुझाव दिए । उनको सुझावअनुसार उनले व्रत गरिन् र पछि पति निको भई स्वस्थ्य भए । त्यसैदिनदेखि प्रत्येक नविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दै परम्परागत रुपमा मनाउँदै आएको बुझिन्छ ।
विधि विधानका साथ पर्वकालभरि प्रत्येक दिन गौरी नागको पूजनपछि कथा सुन्ने विधानअनुसार पहिलो दिन मौनापञ्चमी एवम् विसहराको जन्मका कथा भनिन्छ, जुन नाथ उत्पत्तिको कथा हो ।
दोस्रो दिन मनसाको कथा एवम् विसहराको कथा भनिन्छ । यो महादेवकी मानसपुत्री रुपमा विसहरालाई चिनाइने कथा हो । सोही दिन मङ्गलागौरीको कथा पनि भनिन्छ, जुन कथाद्वारा अल्पायु पतिलाई दीर्घायु तुल्याउन मङ्गलागौरी नागलाई प्रसन्न गर्ने चित्रण गरिएको पाइन्छ ।
यसै कथामा मधुश्रावणी पर्वमा आधारित रहेको कुरा ‘स्कन्द पुराण’ एवम् ‘वर्षकृत्य’ मा सविस्तार चर्चा गरिएको छ । तेस्रो दिन पृथ्वीको उत्पत्ति, समुद्र मन्थनको कथा भनिन्छ । चौथो दिन सतीको पतिव्रताको कथा, छैटौँ दिन गङ्गा उत्पत्ति, गौरीको जन्म कथा सुनाउने गरिन्छ ।
सातौँ दिन गौरीको तपस्या आठौँ दिन गौरीको विवाहका जन्तीको कथा, नवौँ दिन मैनाको मोह भङ्ग र गौरी विवाह, दशाँै दिन कात्र्तिक र गणेशको जन्म, एघाराँै दिन सन्ध्या लिलिको विवाह, सुकन्या, बाह्रौँ दिन बालवसन्त, गोसाउनीको कथा र तेह्रौँ दिन राजाश्रीकरको कथा र गणेशद्वारा सुहाग मन्थन एवम् वितरण कथा श्रवण गरिन्छ ।
यस पर्वमा अन्तिम दिनको कथाको समापनपछि वितरण गरिने सुहाग (अङ्करी, चना) सुहागका प्रतीक विशेष प्ररणादायी रहेको पाइन्छ । पर्व नित्य सुन्ने बिनी सर्पको विष लाग्दा सो विष झार्न प्रयोग गर्ने मन्त्रका रुपमा रहेको बुझिन्छ । पूजनकालमा केंचुआ (धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोको) को प्रयोग यसै पर्वका मङ्गलागौरीको कथा प्रसङ्गबाट प्रेरितले विशेष महत्व राखेको पाइन्छ ।
पर्वको अन्तिम विधि ‘टेमी’ दिन हो । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । यो विधि सामान्य अर्थमा अव्यावहारिक, अन्धविश्वासी, रुढिवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यताको प्रतीक रहेको बुझिन्छ । सो विधि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ ।
मिथिलाकी राजकुमारी सीताले दिएको अग्नि परीक्षाको प्रसङ्ग प्रतीकात्मक रुपमा यस पर्वद्वारा आज पनि जीवन्त मान्न सकिन्छ । रासस