८० प्रतिशत पत्रकार र कर्मचारी अस्थायी र करार

काठमाण्डु टुडे २०७१ असार ३२ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, ३२ असार – राजधानीबाट प्रकाशित हुने ब्रोडसिट दैनिकका अधिकांश श्रमजीवी पत्रकार, कर्मचारी र कामदार करारमै कार्यरत रहेको एक तथ्याङ्कमा उल्लेख छ ।

न्यूनतम पारिश्रमिक अनुगमन उपसमितिद्वारा उपत्यकाबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिकाहरुमा गरिएको एक अध्ययनले सो तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति मातहतको उक्त उपसमितिको प्रतिवेदनअनुसार कतिपय दैनिक पत्रिकाले नियुक्ति पत्र नदिई काममा लगाएको, न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको र समयमा तलब नदिएको देखिन्छ ।

सो प्रतिवेदनको तथ्याङ्क हेर्ने हो भने निजी क्षेत्रको अग्रणी दैनिक पत्रिका कान्तिपुर र द काठमाडौँ पोस्टमा कार्यरत जम्मा एक हजार १३ पत्रकार, कर्मचारी र कामदारमध्ये ५९१ जना करारमै कार्यरत रहेका छन् ।

त्यसैगरी नागरिक दैनिक र रिपब्लिकामा कार्यरत जम्मा ६७९ पत्रकार, कर्मचारी र कामदारमध्ये ५३० जना करारमै कार्यरत देखिन्छन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत १५६ पत्रकार, कर्मचारी र कामदारमध्ये ११० जना करारमा कार्यरत छन् भने नयाँ पत्रिका दैनिकमा कार्यरत ४९ पत्रकार र कर्मचारीमध्ये ३९ अस्थायी र करारमा कार्यरत रहेको प्रतिवेदनले जनाएको छ ।

त्यस्तै राजधानी दैनिकमा कार्यरत ५९ जना, कमाण्डर पोस्ट दैनिकमा कार्यरत ४५ जना र हिमालय टाइम्स दैनिकमा कार्यरत ९६ जना पत्रकार र कर्मचारीमध्ये सबै अस्थायी र करारमा कार्यरत रहेका प्रतिवेदनमा उल्लेख छ ।

अभियान दैनिकमा कार्यरत १०८ जनामध्ये ५८ जना अस्थायी र करारमा, कारोबार दैनिकमा कार्यरत ९० जनामध्ये ५० जना अस्थायी र करारमा छन् भने द हिमालय टाइम्स दैनिकमा कार्यरत ८६ मध्ये ६ जनामात्र करारमा कार्यरत छन् ।

उपसमितिको सो अनुगमनमा सरकारी क्षेत्रको गोरखापत्र र निजी क्षेत्रको नेपाल समाचार पत्रले भने पत्रकार र कर्मचारी दरबन्दीसम्बन्धी कुनै पनि विवरण बुझाएको देखिँदैन ।

यसबाहेक कतिपय दैनिक पत्रिकामा व्यवस्थापन र श्रमजीवीसँग गरिएको अन्तक्र्रिया, पेस गरेको कागजात र अनुगमनका समयमा दिइएका जवाफमा भिन्नता भेटिएको प्रतिवेदनमा उल्लेख छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us