काठमाण्डु, ३२ असार –नेकपा एमालेको नवौं महाधिवेशनमा विजयी नेताहरुले जस्तै पराजित भएकाहरुले पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
महाधिवेशनको क्रममा देखिएको गुटबन्दी र आरोपप्रत्यारोपलाई अन्त्य गरेर अघि बढ्नुपर्नेमा उनीहरुको साझा धारणा छ । पराजित भए लगत्तै केपी शर्मा ओलीलाई शुभकामना दिएका अध्यक्षका प्रत्याशी माधवकुमार नेपालले वक्तव्य निकालेर भनेका छन् ।
नेकपा एमालेको नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी भएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
जनताको बहुदलिय जनवादको भावना अनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ ।
नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु–स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु ।
महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क.के.पी.शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
ओली प्यानलबाट उपमहासचिवका उम्मेदवार शंकर पोखरेलले पनि आफ्नो पराजय स्वीकार गर्दै पार्टीमा पद्दतिको जित भएको टिप्पणी गरेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । नेपालको कम्युिनष्ट आन्दोलनको इतिहासमा नयाँ अध्यायको सुरुवात भएको छ । नेतृत्व हस्तान्तरणको अभियानले सफलता हासिल गरेको छ । यस अभियानमा लाग्ने क्रममा कतिपय कमरेडहरुको मन दुखाउन पुगिएछ र आफुभने चुनावमा सफल हुन सकिएन । यसलाइ मैले एउटा गहिरो शिक्षाको रुपमा लिएको छु । यस अभियानमा साथ दिनुहुने र मलाइ मतदान गर्नुहुने सम्पूर्ण कमरेडहरुलाइ धन्यवाद । नव निर्वाचित अध्यक्ष कमरेड केपी ओली लगायत सम्पूर्ण कमरेडहरुलाइ हार्दिक वधाइ ।
यति विस्तृत लोकतान्त्रिक अभ्यास संगै पार्टी एकता र हितका लागि अव लोकतान्त्रिक संस्कृतिको निर्माणमा अग्रसर बनौ । विजेता कमरेडहरुलाइ निसर्त सहयोग गरौं । लोकतान्त्रिक प्रतिस्पर्धामा जित र हार स्वभाविक हो । कसैको जित र हारको विषय भन्दा पनि पद्धतीको जित भएको छ । यसले नयाँ पुस्ताका लागि नयाँ आशा जगाएको छ । साथै म संगको प्रतिस्पर्धामा उपमहासचिवमा विजयी हुनुहुने दुवै जना कमरेडहरु विष्णुप्रसाद पौडेल र कमरेड घनश्याम भुषालजीलाइ विशेष वधाइ ।
ओली प्यानलकै उपाध्यक्षका उम्मेदवार प्रदीप नेपालले पनि नेतृत्व हस्तान्तरणको अभियान सफल भएको टिप्पणी गरेका छन् । आफ्नो पराजयपछि उनले फेसबुक पेजमा लेखेको प्रतिक्रिया यस्तो छ ।
तीन वर्षदेखि नेत्रित्व हस्तान्तरणको अभियानमा लागेको थिएँ । त्यो सफल भयो । चुनाव अघिको गुटबन्दीलाई निर्वाचन परिणामले सच्याइदिएको छ । यो स्वाभाविक हो । निर्वाचित सबैले प्रतिनिधिहरुको भावना बुझेर काम गर्नुहोस भनी शुभकामना दिन चाहन्छु ।
ओली प्यानलका सचिव उम्मेदवार विष्णु रिमाल पनि पराजित भएका छन् । निर्वाचन परिणामपछि उहाँले आफ्नो फेसबुक पेजमा यसरी प्रतिक्रिया जनाएका छन् ।
विजयी सबै पदाधिकारीहरूलाई बधाई १ मलाई मत दिनुहुने सबै प्रतिनिधिहरूमा आभार १ यहाँहरूको पर्याप्त मन जित्न नसकेकोमा आत्मालोचित छु ।