३ लाखमा राहदानी खरिद गर्ने बङ्गलादेशी नागरिक पक्राउ

काठमाण्डु टुडे २०७१ असार ३१ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, ३१ असार – लामो समयदेखि नेपाली राहदानी खरिद गर्ने कार्यमा संलग्न रहिआएका बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

mrpसाउदी अरबस्थित अल यामामा कम्पनीमा काम गर्न जान श्रम स्वीकृतिका लागि केएल इम्प्लोयमेन्टस् सर्भिस प्रालिलाई कामदारले बुझाएका १०० राहदानीमध्ये २५ जना नेपाली कामदारको नेपाली राहदानी बङ्गलादेशी नागरिकले प्राप्त गरेका थिए ।

केएल म्यानपावरका सञ्चालक कमलप्रसाद सापकोटा, एनसिएफ वैदेशिक रोजगार कम्पनीका सञ्चालक देवीप्रसाद काफ्ले, अल जराफा मानव संसाधन परामर्शदाता कम्पनीका सञ्चालक कुमार पुरी, आरपी इन्टरनेसनल परामर्श कम्पनीका सञ्चालक पूर्णबहादुर मगरमार्फत बङ्गलादेशी नागरिक मोहम्मद देलावार हसनलाई २५ वटा राहदानी प्रतिथान तीन लाखका दरले बेचिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

राहदानीमा फोटो परिवर्तन गरेर बङ्गलादेशी नागरिक नेपाली बनेर साउदी अरबमा जाने प्रयोजनार्थ खरिद बिक्री हुँदै आएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीले जानकारी दिए । त्यसरी बिक्री भएका २५ मध्ये ११ थान नेपाली राहदानी फिर्ता ल्याउन सफल भएको ब्युरोले जानकारी दिएको छ ।

नेपाली राहदानी बङ्गलादेशीलाई बिक्री गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार कम्पनीका सञ्चालक काफ्ले, मगर, पुरी र सापकोटालाई पक्राउ गरी केही दिनअघि मुद्दा दायर गरिएकामा नौ हजार धरौटी राखेर तारेखमा छुटेको प्रहरीको भनाइ छ ।

बङ्गलादेशी नागरिक हसनलाई समेत त्रिभुवन विमानस्थलबाट यही असार १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राहदानीसम्बन्धी ऐनमा कसैले झुठा बयान वा विवरण दिई राहदानी प्राप्त गरेमा वा जारी गरिएको उद्देश्यबाहेक अन्य उद्देश्यका लागि राहदानी प्रयोग गरेमा उनलाई एक वर्षसम्म कैद वा ५सय सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us