एसएलसी लब्धाङ्कपत्र लिन पाँच हजार !

काठमाण्डु टुडे २०७१ असार ३१ गते ९:३५ मा प्रकाशित

काठमाण्डु , ३१ असार – प्रवेशिका परीक्षा उत्तीर्ण गरी लब्धाङ्क लिन आउने विद्यार्थीसँग पाँच हजार माग्ने र पैसा नदिएसम्म लब्धाङ्कपत्र नै नदिने धम्की दिएको रहस्य खुलेको छ ।

slcकाठमाण्डु –७ स्थित सरस्वतीनगरमा रहेको काठमाण्डु युनाइटेड सिटी उच्च माध्यमिक विद्यालयले प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र दिँदा विद्यार्थीसित पाँच हजारका दरले पैसा मागेपछि सोमबार दिनभर विद्यालयमा अभिभावक र विद्यालय व्यवस्थापनबीच विवाद चलेको थियो । जिल्ला शिक्षा कार्यालय काठमाडौँका सहायक जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा यस विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् ।

“यही उच्च माविमा पढ्ने भए तीन हजार अन्य विद्यालयमा जाने भए पाँच हजार चाहिन्छ, लब्धाङ्कपत्रका लागि भनेर हामीसित विद्यालयका प्रधानाध्यापक सुवास जोशीले दिनभर मोलमोलाई गरे ,” पीडित अभिभावक टीका दाहालले भने । जेठ २८ गते भएको परिणाम प्रकाशनको एक महिना बितिसक्दा पनि विद्यालयले पैसाको मोलमोलाई गरेरै लब्धाङ्कपत्र उपलब्ध नगराएको गुनासो पनि उनले गरे ।

विद्यालयबाट २०७० को प्रवेशिका परीक्षामा छ जना विद्यार्थी सहभागी भएकामा छ जना नै प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

“हामीले गर्दा तिमीहरु उत्तीर्ण भएका हौ, त्यसैले हामीले भनेजति पैसा नदिई लब्धाङ्कपत्र दिँदैनौँ भनेर हामीलाई धम्क्याए,” अर्की अभिभावक मनिता डङ्गोलले भनिन् । यसवर्ष सो विद्यालयको केन्द्र बौद्ध तीनचुलेस्थित विट्स एकेडेमीमा परेको थियो । सो विद्यालयका सञ्चालक एवम् प्रधानाध्यापक ज्ञानबहादुर श्रेष्ठ काठमाडौँ सिटी कलेजको सञ्चालक समिति अध्यक्ष एवम् लगानीकर्तासमेत हुन् ।

“हामीले पढ्दा पैसा नतिरी प्रवेशिकाको लब्धाङ्क लिएका थियौँ,” २०६३ सालमा पशुपति मित्र मावि, चाबहिलबाट निःशुल्क प्रवेशिकाको लब्धाङ्कपत्र लिएको सुनाउँदै भाइको लब्धाङ्क लिन आएकी मनिताले भनिन् । यही विद्यालयले गत वर्ष भने रु एक हजारमा प्रवेशिकाको लब्धाङ्कपत्र बाँडेको थियो । लब्धाङ्कपत्र लिन दिनभर अभिभावकका साथ विद्यालयमा प्रवेशिका उत्तीर्णहरु मनोज डङ्गोल, रुपेश शाक्य, गङ्गा दाहाल, मिथिला दाहाल, सागर नगरकोटी र छेटीनुर्बु शेर्पा धर्ना कसेर बसिरहेका थिए ।

विद्यालयका प्रधानाध्यापक सुवास जोशी भने अरु विद्यालयले ५०० देखि एक हजारसम्म लिएजस्तै आफूहरुले पाँच हजार लिएको बताए । उनले भने अभिभावक मुखमुखै लागेकाले पनि पाँच हजार नै लिन बाध्य हुनुपरेको दाबीसमेत गरेका छन् । विद्यालयका दश जोड दुई कोअर्डिनेटर हरिहर चापागार्इं भने सरकारी नियम कानुनले यतिमात्रै लिन पाइन्छ भनेर नतोकेकाले सामान्य शुल्क लिने नियमअनुसार पाँच हजार लिएको दाबी गर्छन् ।

भर्खर शैक्षिकसत्र सुरु भए पनि विद्यालयले अहिल्यैदेखि कक्षा ८ बाट ९ मा जाने विद्यार्थीबाट ट्युसन पढाउने नाममा मासिक एक हजार ५०० भन्दा बढी शुल्क लिन थालेको र बढी शुल्क नतिर्ने विद्यार्थीलाई शैक्षिकसत्र सुरु भइसके पनि निकालिदिएको रहस्यसमेत खुलेको छ ।

यसरी असार १६ गते निकालिएका विद्यार्थीको नाम हो सुरेश दाहाल । विद्यालयले ट्युसन नपढेकै कारण निकालिदिएपछि अहिले उनी कपन निलोपुलस्थित सेन्ट डेभिस विद्यालयमा भर्ना भएको उनका अभिभावक टीका दाहालले बताए । मासिक दुई हजार शुल्क तिरिरहेकामा ट्युसन कक्षाका नाममा थप एक हजार ५०० सहित मासिक तीन हजार ५०० तिर्न नमानेपछि बच्चालाई विद्यालयले निकालिदिएको अभिभावक दाहालले गुनासो गरे ।

“हामीले पढेको फल पाएनौँ भने भाइलाई किन यहाँ पढाउने भनेर अर्कै विद्यालयमा सा¥यौँ,” सुरेशकी दिदी गङ्गा दाहालले भनिन् । “नर्सरीदेखि कक्षा १० सम्म यही विद्यालयमा पढेको फल अहिले आएर पाइयो,” मनोज डङ्गोलले दुःख व्यक्त गरे ।

यसरी विद्यालय छाड्ने बेलामा सबै विद्यार्थी विद्यालय व्यवस्थापनदेखि रुष्ट बन्न पुगेका छन् । आफ्नै दश जोड दुईमा पढाउन विद्यालयले यो चालबाजी गरेको पनि उपस्थित अभिभावकहरुको गुनासो रहेको छ । यो विद्यालय जिल्ला शिक्षा कार्यालय काठमाडौँको वर्गीकरणअनुसार ‘ख’ श्रेणीमा परेको छ ।

पशुपति मित्र मावि चाबहिल स्रोत केन्द्रअन्तर्गत रहेको यो विद्यालयले अचाक्ली नै शुल्क उठाएर महात्वाकांक्षी बनेको र प्रवेशिका उत्तीर्ण विद्यार्थीलाई भर्ना हुने बेलामा लब्धाङ्क नदिएर अन्योलमा राखी शोषण गरेको स्रोत व्यक्ति लक्ष्मी मल्लले बताइन् । यसका लागि विद्यालयलाई आवश्यक कानुनी कार्यबाहीको सिफारिस गरिने पनि उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका काठमाण्डुका सहायक जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले पनि नियममा यति पैसा भनेर नतोकिएकाले लब्धाङ्कपत्र दिँदा पैसा लिनैपर्छ भन्ने जरुरी नभएको दाबी गरे ।

विद्यालय व्यवस्थापन अध्यक्ष रहेका सापकोटा पाँच हजार लिनेबारे कुनै निर्णय नगरिएको दाबी गर्छन् । निर्णय विपरीत कसैले पाँच हजार लिएको भए त्यो मनोमानी हुने र मनोमानी गर्नेमाथि कारबाही गरिने प्रष्ट पारे ।

काठमाण्डुका जिल्ला शिक्षा अधिकारी शङ्कर गौतम प्रवेशिका उत्तीर्ण हुने विद्यार्थीलाई लब्धाङ्क लिन कुनै अतिरिक्त पैसा नलाग्ने बताउछन् । “दुई चार सय लिने सामान्य मानिए पनि पाँच हजार लिनु भनेको विद्यार्र्थी र अभिभावक दुवैमाथिको आर्थिक भार हो,” उनले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us