एमालेको मतगणना सुरु, लुम्बिनी, गण्डकी र भेरी कर्णाली निर्णायक हुने

काठमाण्डु टुडे २०७१ असार ३१ गते ४:५३ मा प्रकाशित

Uml-new-logoकाठमाडौँ, ३१ असार – नेकपा (एमाले)को नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि यही असार २६ गते भएको निर्वाचनको जारी मतगणनाको आज तेस्रो दिनको गणना केहीबेर अघि सुरु भएको छ ।

कुल पाँच मतदान केन्द्रमध्ये हालसम्म केन्द्रीय निकाय, जनसङ्गठन, मेची, कोसी, जनकपुर, बागमती, नारायणी र काठमाडौँ उपत्यकाका गरी तीनवटा केन्द्रको मतगणना सम्पन्न भइसकेको छ । बाँकी दुई केन्द्रको मतगणना गर्न बाँकी छ । यी केन्द्रमा गण्डकी, लुम्बिनी, भेरी, राप्ती, धौवलागिरि, सेती, कर्णाली, महाकाली र प्रवासका मत छन् ।

आज बिहान ८ बजेदेखि गणना सुरु हुने भनिए तापनि सोमबार गणना भएकामध्ये केही मतमा विवाद भएपछि केन्द्रीय निर्वाचन आयोग र महाधिवेशन मूल व्यवस्थापन समितिबीच बैठक बसेकाले गणना सुरु हुन ढिलाइ भएको एमाले निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले बताए । बैठकले विवादितमध्ये तीन मतलाई सदर गरेको छ । सो मत कुन उम्मेदवारको भन्नेमा आयोगले खुलाएको छैन ।

गए रातिसम्म गणना भएको केन्द्रीय सदस्यहरूको मतलाई यकिन गरी सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले बताए ।

पदाधिकारीको मतगणना सोमबार साँझबाट स्थगित गरिएको थियो । त्यसबेलासम्म प्राप्त मत परिणामअनुसार अध्यक्षमा माधवकुमार नेपालले अग्रता लिएका छन् ।

कुल एक हजार ३०५ मतगणना हुँदा अध्यक्षमा नेपालले ६४१ र केपी ओलीले ५९३ मत प्राप्त गरेका छन् ।
प्राप्त मतमा उपाध्यक्षमा भीम रावल ६९०, बामदेव गौतम ६३६, लालबाबु पण्डित ६५८, विद्या भण्डारी ६२०, अष्टलक्ष्मी शाक्य ६१३, प्रदीप नेपाल ५६१, राजेन्द्र पाण्डे ६६३, किरण गुरुङ ५७२, युवराज ज्ञवाली ६८७ र धर्मनाथ साह ५३९ रहेको छ ।

महासचिवमा सुरेन्द्र पाण्डे ६६१, ईश्वर पोखरेल ५८७, उपमहासचिवमा घनश्याम भुसाल ६९४, विष्णुप्रसाद पौडेल ६१८, रघुजी पन्त ६३२, शङ्कर पोखरेल ५९१, सचिवमा प्रदीप ज्ञवाली ६४२, पृथ्वी सुब्बा गुरुङ ५८२, गोकर्ण विष्ट ७७६, योगेश भट्टराई ६८७, बेदुराम भुसाल ६३१, विष्णु रिमाल ५७२, भीम आचार्य ६६४, रघुवीर महासेठ ५२९, पर्शुराम मेघी गुरुङ ६६१ र केशवलाल श्रेष्ठले ५१० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us