गाेकर्ण विष्ट एमालेमा सबैभन्दा लोकप्रिय

काठमाण्डु टुडे २०७१ असार ३० गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ३० असार – एमाले युवा नेता गोकर्ण विष्ट बाहिर जति लोकप्रिय छन् , पार्टीभित्र पनि उत्तिकै लोकप्रिय देखिएका छन् ।

Gokarna-Bistaनवौं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा विष्टले सर्वाधिक मत पाएका छन् ।

माधव नेपाल पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका विष्टले पछिल्लो मतपरिणाम अनुसार ७७६ मत ल्याएका छन् । विष्टपछि पदाधिकारीमा दाेश्रो मत नेपाल समूहकै अर्का नेता घनश्याम भुसालले ६९४ ल्याएका छन् । भुसाल पनि सचिव पदका उम्मेदवार हुन् ।

निर्वाचन समितिले हालसम्म करिब १३ सय मतकाे गणना सकिएकाे जनाएको छ । माधव नेपाल नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका विष्टले लोडसेडिङग घटाएर र सरकारी कार्यालयसहित ठूला व्यवसायिक प्रतिष्ठानले नतिरेका करोडौं बक्यौता विद्युत महशुल उठाएर चर्चामा आएका थिए ।

शालीन स्वभावका विष्ट थोरै बोल्छन् । नवौं महाधिवेशनको पूर्वसन्ध्यामा माधव नेपाल र केपी ओलीसहित दुवै प्यानलमा नेताहरुले एकअर्काविरुद्ध लक्षित गरी अराजनीतिक टिकाटिप्पणी र गालीगलौज गरेको भन्दै उनले शिष्ट र मर्यादित हुन दबाव दिएका थिए ।

सोही कारण पनि निर्वाचनमा उनले सबैभन्दा बढी मत ल्याएको एमालेवृतमा चर्चा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us