धर्मको नाउँमा पैसाको धन्दा , क्रिश्चियन बने तीन हजार

काठमाण्डु टुडे २०७१ असार ३० गते ११:०९ मा प्रकाशित

सुन्दरीजल, ३० असार – सडकमा फालिएका र अस्पतालमा छोडिएका परित्यक्त बालबालिकाको संरक्षण गर्दै आएको बुद्धिष्ट बालगृह जोरपाटीकी अध्यक्ष दुर्गा मैनालीले गृहमा आश्रित बालबालिकालाई बिहान र बेलुका यशुको प्रार्थना गराए प्रतिबालक मासिक तीन हजार दिने प्रस्ताव आएको बताएकी छिन् ।

“बालगृह चलाउन गाह्रो भएको थाहा पाएपछि क्रिश्चियनले प्रतिबालक मासिक तीन हजार दिने प्रस्तावसहित त्यसवापत गृहले दैनिक बिहान र बेलुका यशुको प्रार्थना गराउनुपर्ने प्रस्ताव ल्याए, हाम्रो संस्कृतिमाथिको आक्रमण सोचेर सिधै अस्वीकार गरिदियौँ”,– प्रस्तावबारे बताउँदै अध्यक्ष मैनालीले भनिन् ।

जोरपाटी क्षेत्रका ४०० जना व्यक्तिको १०० मासिक सहयोग र १०० घर परिवारबाट सङ्कलन हुने मुठ्ठीदानबाट यो बालगृह सञ्चालन हुँदै आएको छ । यसबाहेक बेलाबेलामा अन्य सहयोग गर्ने व्यक्तिहरु आएपनि गृह चलाउन नसकेपछि सहयोग जुटाउन बालगृहले वैशाखमा श्रीमद्भागवत् सप्ताह लगाइएको आयोजक समितिका सदस्य बद्री महतले जानकारी दिए । सप्ताह कार्यक्रमबाट रु छ लाख ९२ हजार सहयोग सङ्कलन भएको अध्यक्ष मैनालीले बताइन् ।

“सहयोगका नाममा बालगृहमा बस्ने बालबालिकाको धर्म परिवर्तन गराउन खोजेपछि बालबालिकाले जे धर्म मान्न चाहन्छन् मान्न पाउँछन् हामी कुनै करकाप गर्दैनौँ भनेर धर्म परिवर्तन गराउन आउनेलाई फर्काइदियौँ”, अध्यक्ष मैनालीले प्रष्ट पारिन् ।

सजिसजाऊ भएर आएका र जोडीमा रहेका क्रिश्चियनले बालाजुमाथि पनि हाम्रो चर्च छ बालगृहलाई कति चाहिन्छ सहयोग गर्छौं तर तपाईंहरु सबै क्रिश्चियन बन्नु प¥यो भनी पटक–पटक करकाप गरेको उनले खुलासा गरिन् ।

विसं २०६३ जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि धर्म परिवर्तन गराउने बाटो खुल्यो भन्दै बौद्ध जोरपाटी क्षेत्रमा धर्म परिवर्तन गराउँदै हिँड्नेको सङ्ख्या बढेको छ ।

त्यसअघि जोरपाटीमा एउटै चर्च रहेकोमा अहिले ४० वटा चर्च खुलेको स्थानीय दीपकसिंह भण्डारीले बताए । विसं २०६३ माघ १ गते जारी भएको नेपालको अन्तरिम संविधानको धारा २३ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरेको छ । त्यस धारामा भनिएको छ, “तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार गर्न पाइने छैन”, भन्ने वाक्यांश उल्लेख भएको छ ।

यसतर्फ राज्यको ध्यान नजानाले यस क्षेत्रमा धर्म परिवर्तन गराउँदै हिँड्नेको सङ्ख्या बढेको भण्डारीले गुनासो गरे । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक श्यामसुन्दर चौधरीले यससम्बन्धी उजुरी नआएकाले केही गर्न नसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us