सूचना लुकाउने सचिवविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७१ असार ३० गते ८:४३ मा प्रकाशित

बाँके, ३० असार – गनापुर गाविसका युवाले गाविसको आम्दानी र खर्चको विवरण, राजस्व, लक्ष्यित समुदायका लागि गरिएको खर्चको विवरण र सामाजिक सङ्घ संस्थाको तथ्याङ्क माग गर्दा नदिएको भन्दै सचिवविरुद्ध उजुरी दिएका छन् ।

चार÷चार पटक लिखितरुपमा सूचना माग्दासमेत उपलब्ध नगराएको भन्दै आरटीआइ ग्रुप र युवा सञ्जालले सचिव पर्शुराम शुक्लाविरुद्ध जिल्ला प्रशासन, जिल्ला विकास समिति, राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका हुन् ।

ग्रुपका संयोजक नारायण पालले भने – “गाविसको गाउँ परिषद् सकिएपछि पहिलोपटक पुस २६ गते बजेट, आयव्ययको सूचना माग गरी लिखित निवेदन पेस ग¥यौं । त्यसपछि माघ, फागुन र चैत महिनाको विवरण दिन गरिएको लिखित माग पनि अटेर गरिएपछि उजुरी दियौं” ।

सो गाविसका उद्योग र कलकारखानाको राजस्व आम्दानी, बजेट खर्च, लक्ष्यित समुदायका लागि गएको रकम र सङ्घसंस्थाको खर्च विवरण पारदर्शी नभएको उनको आरोप छ ।

गाविस सचिव शुक्लाले भने आफूले कुनै सूचना नलुकाएको दाबी गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us