सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ असार ३० गते ५:१२ मा प्रकाशित

सप्तरी, ३० असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ खरचुहियाँमा सडकछेउमा रोकिराखेको ट्रकमा मोटरासइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
गएराति ११ बजेको समयमा खरचुहियाँबाट कल्याणपुरतर्फ आउँदै गरेको स २ प ६८२८ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिरहेको ना २ ख ९००४ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक सप्तरीको कल्याणपुर–८ का ३० वर्षीय धनिलाल चौधरी र पछाडि बसेका कल्याणपुर–२ का २६ वर्षीय राम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएकोमा करिब १ बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले ट्रक र चालकलाई नियन्त्रणमा लिएको  छ ।
यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलवारी–४ मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रिपरले विपरीत दिशाबाट आइरहेको को ९प ४५४९ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ कोसी–हरैचा नगरपालिकाका ३५ वर्षीय सन्तोष वास्तोला र इन्द्रपुर–८ का ३५ वर्षीया देवीप्रसाद वाग्लेको मृत्यु भएको हो ।

ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us