कञ्चनपुर, ३० असार– जिल्लामा विषालु सर्पको तस्करी बढ्न थालेको छ ।
भारतीय सपेराहरुले विषालु सर्प समातेर लग्न थालेपछि गोमन, करेत, गरौचा, लम्बा लगायतका सर्पका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् ।
भारतबाट परिवारसहित समूहसमूहमा आउने गरेका फिरन्ते बन्जारा (कन्जड) ले यहााका वन, नदी, तलाउ र सिमसार क्षेत्रबाट विषालु सर्प समातेर भारततर्फ लाने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
भारतमा विषालु सर्प समात्न प्रतिबन्ध गरिएपछि बन्जाराहरुले ६ महिनायता कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा सर्प समात्ने काम गर्दै आएका छन् ।
भारतमा विषालु सर्पलाई औषधिका रुपमा प्रयोग गरिने भएकाले यस्ता सर्पको मूल्य उच्च हुने गरेको छ ।
पहिला सर्प देखाएर अन्न र नगद मागेर जीविका धान्दै आएका फिरन्तेहरुले त्यसबाट जीविका चलाउन सहज नभएपछि सर्प बेच्ने पेसा अंगालेका हुन् ।
एक परिवारले छ महिनाको अवधिमा १० देखि १५ वटासम्म विषालु सर्प समातेका छन् ।
भारतको लखनऊ, हैदरावाद, बैङ्गलोर, दिल्लीलगायतका सहरमा यहाँबाट समातेका सर्पहरु बिक्री हुने गरेको उनको भनाइ छ । छ महिना नेपालका तराई क्षेत्रमा बसेर समातेका सर्प बेचेर एक परिवारले तीन लाखदेखि पाँच लाख भारतीय रुपैयाँसम्म कमाउने गरिएका छन् ।
जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख पशुपतिनाथ कोइरालाले सर्पको अवैध तस्करी गरी भारतमा लगेर बेच्न नपाइने र संरक्षणको सूचीमा रहेका कुनै पनि जनावर तथा जीवजन्तुलाई स्वीकृतिबिना ओसारपसार र बिक्रीवितरण गर्न नपाइने बताए ।
उनले पश्चिम तराई भूपरिधिसँग सहकार्य गरेर वन कार्यालयले सपेराहरुलाई नियन्त्रणमा लिने बताए । उनले तस्करीमा संलग्नलाई हदैसम्मको कारबाही हुने उल्लेख गरे ।