पहिरोमा ६ को मृत्यु

काठमाण्डु टुडे २०७१ असार २९ गते १२:५९ मा प्रकाशित

चौतारा, २९ असार – अविरल वर्षासँगै गए राति छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी ६ को मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौतारा नगरपालिका–१ पिपलडाँडाका ५० वर्षीय नन्दलाल अधिकारी, ४० वर्षीया सावित्री अधिकारी र सानैदेखि काम गर्न बसेका ठेगाना नखुलेका ४० वर्षीय रामबहादुर थिङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

पहिरोमा परी अन्य चार सामान्य घाइते भएका छन् । घाइते हुनेमा मृतकका छोरा, बुहारी, छोरी रहेको बताइएको छ ।

आइतबार बिहान घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको टोलीले मृतकको किरिया खर्चबापत जनही ४० हजार प्रदान गरेको छ ।

त्यस्तै पहिराले धुस्कुन–२ साउनेपानी निवासी ४० वर्षीया सुन्तली विकको घटनास्थल र उनका श्रीमान् ५५ वर्षीय सोमबहादुर विकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

यसैगरी भोटासिया–४ गाईखर्कमा घर भत्केर घरमा सुतिरहेकी ३० वर्षीया सानुमाया तामाङको घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै सुतेका तीन बालबालिका भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us