प्रज्ञा–प्रतिष्ठान प्राज्ञ विहिन

काठमाण्डु टुडे २०७१ असार २९ गते ९:१४ मा प्रकाशित

काठमाण्डु, २९ असार – नेपाल प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्राज्ञ परिषद्को गठन हुन नसक्दा त्यहाँको वार्षिक काम प्रभावित भएको छ ।

nepal academyप्राज्ञ परिषद्का पदाधिकारीको तोकिएको समय गत वर्षको माघ २० गते सकिएको थियो । पदाधिकारीको कार्यकाल सकिएपछि प्रतिष्ठान अहिले पदाधिकारीविहीन बनेको छ ।

प्रतिष्ठानका प्रशासन प्रमुख ज्योतिराज काफ्लेले प्रतिष्ठान पदाधिकारीविहीन भएको लामो समय भइसक्दा पनि पनि प्राज्ञ परिषद्को गठन हुन नसक्दा पदाधिकारीको निर्णयबाट हुने वार्षिक कार्यक्रम तथा बजेट परिचालनका काम प्रभावित भएको जानकारी गराए ।

परिषद् गठनका लागि सरकारलाई धेरैपटक आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको गुनासो गर्दै उनले भने – “प्राज्ञ परिषद् प्रतिष्ठानको कार्यकारी निकाय भएकाले प्रतिष्ठानका कामकाजलाई व्यवस्थित गर्न प्राज्ञ परिषद्को गठन चाँडै गरिनुपर्छ ।”

प्रतिष्ठानकी उपशाखा प्रमुख सिशिष चालिसेले प्राज्ञ परिषद्का पदाधिकारीको गठन हुन नसकेकाले प्रतिष्ठानले गर्दै आएका वार्षिक कार्यक्रम कर्मचारीको सक्रियतामा सञ्चालन हुँदा त्यति प्रभावकारी हुन नसकेको जानकारी दिए ।
प्रतिष्ठानमा प्राज्ञ परिषद्को निर्णयबाट साहित्य र संस्कृतिसम्बन्धी कार्यक्रम, साहित्यिक पुरस्कारको निर्णय, साहित्य पत्रपत्रिका तथा कृतिका प्रकाशन हुने गर्दछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us