काठमाण्डु, २९ असार – नेकपा एमालेको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणनाका त्रिपुरेश्वरस्थितको राष्ट्रिय खेलकुद परिषद्को काम प्रभावित भएको छ ।
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पनि प्रवेश नपाएपछि फर्केका छन् । परिषद्का कुनैपनि कर्मचारीलाई कार्यालय प्रवेश गर्न दिइएको छैन ।
नियमित कार्यालय आएका कर्मचारीहरुभित्र छिर्न नपाएपछि अन्योलमा परेका छन् । परिषद्मा करिब २०० कर्मचारी कार्यरत छन् ।
परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले महत्वपूर्ण शाखाका कर्मचारीलाई प्रवेशपत्र बनाएर छिराउन एमाले निर्वाचन आयोगसँग समझदारी भएको बताए ।
मतगणनास्थलमा पदाधिकारीका उम्मेदवार र गणकलाई मात्र प्रवेश दिइएको छ ।
साथै त्रिपुरेश्वर क्षेत्रमा एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेकाले यातायात अस्तव्यस्त बनेको छ । त्यस क्षेत्र भएर गुड्ने सवारी साधन शहिदगेटदेखि नै जाममा परेको ट्राफिक प्रहरीले जनाएको छ । उता कुपण्डोलदेखि गाडी जाममा फसेका छन् ।