काँग्रेस युवा नेता सभासदलाई पाँच करोड दिन नहुने पक्षमा

काठमाण्डु टुडे २०७१ असार २८ गते १०:०२ मा प्रकाशित

काठमाण्डु, २८ असार– सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैयाँ दिने तयारी गरिरहेकै बेला सत्तारुढ नेपाली काँग्रेसका युवा नेताहरुले भने यसको विरोध nc youth leaderगरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता विनोद कायस्थले संसदीय ब्यवस्थामा जनताको समस्या समाधान, विधि निर्माण र सरकारको कामको अनुगमन संसदले गर्ने भन्दै सभासदलाई पाँच करोड दिने कुरा वीपीवाद, समाजवाद, उदारवाद र लोकतान्त्रिक मूल्य मान्यताविपरीत हुने जिकिर गरे । काँग्रेस केन्द्रीय समिति बैठकले भने सभसदलाई पाँड करोड दिन सरकारलाई आदेश दिइसकेको छ ।
उनले सभासदहरुलाई सीधै पाँच करोड रुपैयँ दिए त्यसले मुलुकमा फेरि भ्रष्टाचारको पुनरावृत्ति गर्ने दाबी गर्दै योजना बनाएर समानुपातिक विकास गराउनतर्फ लाग्नु पर्नेमा जोड दिए ।
कायस्थले कुनै पनि हालतमा सभासदलाई पाँच करोड रुपैयाँ दिन नहुने भन्दै यसले मुलुकमा गलत परम्पराको विकास गर्ने दाबी गरे ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसीले योजना पारेर पैसा निकाशा गराउन उचित भए पनि हरेक सभासदलाई पाँच करोड रुपैयाँ दिने कुरा लोकतान्त्रिक मूल्य मान्यता विपरीतको निर्णय भएको बताए ।
उनले संसदीय पद्धतिमै नभएको कुरा नेपालमा हुन लागेको भन्दै उत्पादनमा जोड दिनुपर्ने बेलामा यस्तो निर्णयले मुलुकलाई पुन: भ्रष्टाचार र अविकासतिर फर्काउने दाबी गरे ।
केसीले समानुपातिक विकास गर्नुपर्ने कुरा जायज भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । तरुण दलका पूर्व महासचिव पुष्पराज पराजुलीले मुलुक सक्रमणकालमा रहेका बेला यसरी पैसा माग्नु र दिनु ठीक नहुने भन्दै संविधान लेख्न आएका सभासद विकासको ठेकेदार भएर मैदानमा उत्रन नहुने जिकिर गरे ।

उनले पाँच करोड नदिए बजेट नै ल्याउन दिन्न भन्नु अलोकतान्त्रिक भएको उल्लेख गरे । अर्थमन्त्रीले त्यस विषयमा दृढतापूर्वक उभिनुपर्ने उनले बताए । सरकारले त्यस्तो निर्णय गरे विरोधमा उत्रने चेतावनी दिए ।
वीपी प्रतिष्ठानका महासचिव देवेन्द्र पाण्डेले सभासदलाई ५ करोड दिए मुलुकमा निरंकुशता बढाउने र मुलुकलाई १ सय वर्षपछि धकेल्ने दाबी गर्दै स्थानीय निकायम रिक्त भएको अवस्थामा यस्तो पैसाले विकासभन्दा पनि भ्रष्टाचार बढाउने तर्क गरे । नेपाल भुतपूर्व सैनिक संघका अध्यक्ष नारायण कोइरालाले पाँच करोड दिने निर्णयले मुलुकमा कुसंस्कार भित्र्याउने भएकोले यस्तो निर्णय आपत्तिजनक भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us