प्रचण्डको नेतृत्वमा वैचारिक बहस व्यवस्थापन समिति

काठमाण्डु टुडे २०७१ असार २८ गते ९:४३ मा प्रकाशित

काठमाण्डु, २८ असार– एकीकृत नेकपा माओवादीले पार्टीको आन्तरिक समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
maoist-flagशनिबार बसेको स्थायी कमिटि बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

‘वैचारिक बहस व्यवस्थापन समिति’ नाम दिइएको उक्त समितिमा वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी सदस्य छन् ।

यस्तै विभिन्न जिल्लामा देखिएका समस्या समाधानका लागि सचिव वर्षमान पुनको नेतृत्वमा तीन सदस्यीय कार्यदल गडन गरिएको छ । कार्यदलमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल र पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल सदस्य छन् ।

यस्तै बैठकले पार्टी नियमावली निर्माणका लागि उपाध्यक्ष बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

समितिले तयार पारेको नियमावली मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि कार्यान्यवनमा लैजाने माओवादीले जनाएको छ ।

यस्तै एमाओवादीले जिल्ला सम्मेलन गर्न बाँकी जिल्लामा साउनभर सम्मेलन सक्न र पदाधिकारी तोक्न सम्वद्ध कमिटीलाई निर्देशन दिएको छ । बैठकले साउन महिनाका लागि दोश्रो चरणको प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us