हरि रोकाको आँखाले देखेको एमाले महाधिवेशन

काठमाण्डु टुडे २०७१ असार २१ गते ९:३२ मा प्रकाशित

काठमाण्डु– नेकपा एमालेको नवौं महाधिवेशन काठमाण्डुमा चलिरहेको छ । संविधानसभाको दोश्रो ठूलो र सरकारमा पनि रहेको दलको महाधिवेशन भएकाले सबैको चासो त्यतातिर छ ।

hari rokaएमालेको राष्ट्रिय महाधिवेशनले तय गर्ने बाटो र नयाँ आउने नेतृत्वको बारेमा सबैले ध्यान दिइरहेको अवस्था छ ।
महाधिवेशन जारी रहेको भए पनि त्यसले के गर्ला भन्ने कुरा सामान्यतया: जगजाहेर जस्तै छ । एमालेलाई महाधिवेशन लागेको धेरै महिना भइसक्यो । चर्चा परिचर्चा पनि भएकै छ । मिडियाले समाचार छापेकै छन् । तर एमालेभित्र न महाधिवेशनअघि न त महाधिवेशन सुरु भएपछि नै राजनीतिक वैचारिक छलफल भएको छ । पूरानै विचारमा छलफल भयो, त्यसैमा सबै गुटउपगुटको सहमति भयो । नेतृत्वमा को पुग्ने भन्नेमा मात्र झगडा छ ।

राजनीतिक, वैचारिक हिसाबले पूरानै विचारमा रहेको पार्टीको नयाँ आउने नेतृत्वबाट मुलुक, जनता र स्वयम् एमालेजनले कुनै अपेक्षा गर्ने ठाउँ छैन । त्यसैले अध्यक्षका आकांक्षीमध्ये माधवकुमार नेपाल र केपी शर्मा ओली जसको उदय भए पनि त्यसले केही फरक पार्दैन । एमालेमा युवा नेताहरुले नेपाली समाजको चरित्रमा परिवर्तन आएको बहस लामो समयदेखि गर्दै आएका थिए । अहिले आएर बुढा नेताहरु त्यो विचारमा सहमत भएका छन् । एमालेले २०६२/०६३ सालको जनआन्दोलनलाई पुँजिवादी क्रान्तिको उत्कर्ष मानेको छ ।

नेपाली समाज अर्धसामन्त्री अवस्थाबाट माथि उठेको र पुँजिवादी क्रान्ति सम्पन्न भएकाले अबको बाटो आर्थिक विकास भएको निष्कर्ष उसको छ । निवर्तमान महासचिव ईश्वर पोखरेल भन्दै थिए कि ‘पुँजिवादी क्रान्ति सम्पन्न भइसकेकाले अब हामी आर्थिक विकासमार्फत समाजवादी बाटोमा अघि बढ्ने हो ।’ उनले राजनीतिक क्रान्ति सकियो भनेका छन् । त्यो भनेको पुँजिवाद र उसका संरचनाहरुलाई संस्थागत र व्यवस्थित गर्ने भनेको हो ।

राजनीतिक क्रान्ति सकियो, राजनीतिक मुद्धा नै सकियो भन्ने र आर्थिक विकासको कुरालाई मात्र अगाडि बढाउने हो भने एमालेले राजनीतिक ग्राउण्ड छोडेको अर्थ लाग्नेछ । विचारमा मात्र होइन, एमालेको व्यवहारले पनि त्यही कुरा प्रष्ट्याएको छ । मध्य असारको समयमा उसको महाधिवेशन जारी छ । नेपालमा लगभग ७० प्रतिशत कृषि मजदुर छन् । कृषिमा आश्रित जनताकाे हिस्सा ८० प्रतिशतभन्दा बढी  छ ।
एमालेले ‘मानो रोपेर मुरी उब्जाउने’ भन्ने दिनहरुमा आफ्नो महाधिवेशन गरिरहेको छ । त्यसले के देखाउँछ भने मानो रोपेर मुरी उब्जाउने तहका मानिसहरु एमाले महाधिवेशनमा सहभागी छैनन् । किनकी उनीहरु यस्तो समयमा पार्टीको महाधिवेशनमा आउन सक्दैनन् । यसको अर्थ यो हो कि एमालेमा महाधिवेशन प्रतिनिधि हुने तहका नेता कार्यकर्ता कोही पनि कृषक छैनन् । खेतबारीको काम गर्दैनन् । उनीहरु कृषिबाहेक जागिर, व्यापार वा अरु नै कुनै व्यवसायमा छन् । यो अवस्थाले एमालेलाई एउटा हाइसञ्चो भएको छ । समग्रमा वर्ग उत्थान भएको छ ।

किन भने उसले किसान, मजदुर र सीमान्त वर्गका मानिसहरुको नेतृत्व गर्ने दु:ख गरिरहनु परेन । जनताको ठूलो पंक्तिको एमालेले प्रतिनिधित्व गरिरहेको छैन भन्ने यस घटनाबाट पुष्टि भएको छ । पुँजिवाद आइसक्यो, अब आर्थिक क्रान्ति मात्र गर्ने भनेपछि तल्लो वर्ग एमालेबाट छुट्नु स्वभाविक बन्न गएकोछ । एमालेले बहुसंख्यामा रहेका निम्न मध्यम, त्यो भन्दा तलका सीमान्तकृत र सर्वहारा वर्गको नेतृत्व गर्ने र उनीहरुलाई समाजको अर्को वर्गसँग प्रतिस्पर्धी हैसियतमा उठाउने कुरा छाडेको यो भन्दा ठूलो तथ्य र प्रमाण अरु केही खोज्नु पर्दैन ।

यो भनेको समाजमा अहिले पनि हेपिएर रहेका महिला, दलित, मधेसी, सीमान्तकृत वर्ग र कर्णालीका जनतालाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा नल्याउनु वा ल्याउन नचाहनु हो । पुँजिवाद भन्ने बित्तिकै त्यो प्रतिस्पर्धामा आधारित व्यवस्था हो । माथि भनिएका वर्ग अहिल्यै प्रतिस्पर्धामा उत्रन सक्ने अवस्थामा छैनन् । यसले एमालेले जनताको ठूलो पंक्तिसँग सम्बन्ध विच्छेद गरिसकेको देखाउँछ ।
हरेक निर्वाचन क्षेत्रमा पैसा खन्याउने र संस्था वा प्रणालीभन्दा व्यक्ति बलियो हुनुपर्छ भन्ने विचार एमालेमा हाबी हुँदै गएको छ । यस्तो विचारले भएका संस्थालाई नातावाद, क्रिपावाद र फरियावादतर्फ उन्मुख गराउँछ । मुलुकमा नवउदारवादी मान्यताका कट्टर समर्थक अर्थमन्त्री छन् । त्यसैका पछाडि दर्गुने प्रधानमन्त्री छन् । काँग्रेस नेतृत्वको सरकारमा महत्वपूर्ण साझेदार एमाले छ । नवउदारवादी काँग्रेस र पुँजिवाद आइसक्यो भन्ने एमालेबीच विचारमा खासै फरक छैन । जनता र मुलुकप्रतिको उनीहरुको सोच्ने तरिकामा समान धारणा छ ।
यस्तो अवस्थामा एमालेमा को नेतृत्व आउला भन्ने कुराले केही फरक पार्दैन । राजनीतिक, आर्थिक, सामाजिक सोचमा दुवैको समान धारणा छ । एमालेले राजनीतिक रुपमा कसको नेतृत्व गर्ने भन्ने नै प्रष्टता छैन ।

निष्कर्षमा एमालेले ठूलो ग्राउण्ड छाडेको छ । विगतमा भएका हरेक चरणका आन्दोलन, संघर्ष वा जनक्रान्तिमा भूमिका खेल्ने प्रगतिशील समुदायको ठूलो तप्कामा एमालेप्रतिको भ्रम थियो । त्यो भ्रम यो महाधिवेशनले तोडेको छ । जब कुनै पनि राजनीतिक शक्तिले आफ्नो वर्गसँग निर्णायक किसिमको सम्बन्ध विच्छेद गर्छ तब छोडिएको वर्गले आफ्नो विकल्प खोज्छ । वा अर्को शक्ति जन्मन्छ । यसको अर्थ सही राजनीतिक विचार र कार्यदिशा बोकेको राजनीतिक शक्तिका लागि महाधिवेशनले ठूलो आधार तयार गरेको छ । किनकी एमालेले छाडेको वर्ग उसतिर आकर्षित हुने ढोका खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us