खेत जोत्न मेसिन नै सस्तो र सजिलो

काठमाण्डु टुडे २०७१ असार २० गते ११:२५ मा प्रकाशित

झापा– खेत जोत्नका लागि हल गोरु र जनशक्तिको अभाव भइरहेको बेला झापाका बहुुसङ्ख्यक किसानले पावर ट्रिलर र ट्याक्टरको प्रयोग गर्न थालेका छन् ।

ptजिल्ला कृषि विकास कार्यालय झापाले यस वर्ष खेत जोत्न प्रयोग गरिने १४ वटा हाते मेसिन पावर ट्रिलर किसानलाई वितरण गरेको जनाएको छ । एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाका सात वटा गाविसमा सो मेसिन अनुदानमा वितरण गरिएको कार्यालयका प्राविधिक सहायक शेषराज पौडलेले जानकारी दिए ।

विश्व बैंकको सहयोगमा कनकाई सिँचाइ क्षेत्रभित्रका कृषकलाई २०६५ सालदेखि हालसम्ममा ७२ वटा त्यस्ता मेसिन वितरण भइसकेको उनले जानकारी दिए । कृषि विकास कार्यालयले ती मेसिन खरिदमा किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।

युवाहरू विदेशिने क्रम बढेको, खेतबारी जोत्नका लागि राँगा–गोरु तथा मजदुर नपाइने गरेको र मजदुर पाइहाले पनि महँगो ज्याला दिनुपरेका कारण किसानहरू मेसिनको प्रयोगमा आकर्षित हुन थालेका कृषि कार्यालयका प्राविधिक शालिकराम भट्टराई बताउँछन् ।

खेत जोत्नका लागि एक हल राँगा गोरुको दैनिक ज्याला रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ । एक हल राँगा गोरुको खरिद मूल्यसमेत रु ६० हजारदेखि एक लाख ५० हजारसम्म पर्ने गरेको छ ।

यति महँगोमा राँगा गोरु प्रयोग गर्नुुको साटो रु एक लाखदेखि डेढ लाखमा किन्न पाइने पावर ट्रिलर मेसिन नै सस्तो र सुविधाजनक हुने किसानहरू बताउँछन् । ज्यामिरगढीका निबोल मेचेले यसपालि हलगोरु बेचेर पावर ट्रिलर मेसिन किोका छन् । उनले राँगागोरु जसरी मेसिन नथाक्ने र आफ्नो इच्छाबमोजिम चलाउन सकिने भएका कारण पावर ट्रिलर नै सजिलो लागेको बताए ।

कनकाई सिँचाइ प्रणाली क्षेत्रका सतासीधाम, धरमपुर, बैगुनधुरा, महाभारा, पाँचगाछी, शिवगञ्ज र तोपगाछी गाविसका किसानले पावर ट्रिलरको प्रयोग बढी मात्रामा गर्न थालेका छन् ।

झापामा हाल कति किसानले यस्ता मेसिन प्रयोग गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि उहाँका अनुसार झापामा ८० प्रतिशत खेत जोताइमा मेसिनको प्रयोग हुँदै आएको छ भने राँगागोरुको प्रयोग खुम्चिएर २० प्रतिशतमा झरेको छ । पावर ट्रिलर मेसिनले प्रतिघण्टा तीन कट्ठाभन्दा बढी जमिन जोत्ने र डिजेल पनि अन्यन्तै कम खपत गर्दछ ।

“परम्परागत शैलीभन्दा सस्तो र जनशक्ति कम लाग्ने हुँदा पावर ट्रिलर मेसिनको माग बढेको छ”, भट्टराई भन्छन् – “बजेटको सीमितताका कारण मागे जति मेसिन उपलब्ध गराउन सकिएको छैन ।”

झापाको विर्तामोडमा रु एक लाख ५० हजारसम्ममा पाइने ११ देखि १४ हर्सपावरको पावर ट्रिलर मेसिन किसानको रोजाइमा पर्दै आएको व्यापारीहरू बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us