
०५१ सालयता नेकपा एमालेको जीवन कष्टकर रुपमा बित्यो । कम्युनिष्ट पार्टीको भविष्यका बारेमा बहस सुरु नहुँदै फरक कम्युनिष्टका नाममा ०५२ सालदेखि नेकपा माओवादीको गठन र संगठन विस्तारको क्रम चल्यो । एमाले शान्तिपूर्ण राजनीतिक र बहुदलीय प्रतिस्पर्धामा कम्युनिष्ट पार्टीको अभिभावकत्वमा प्रवेश गर्न नपाउँदै माओवादीको हतियार युद्धले मुलुकलाई प्रभावमा राखिरहेको थियो । कम्युनिष्ट पार्टीमा आवद्ध हुनेहरु शक्ति र वर्चश्वका लागि पनि फुत्तफुत्त माओवादीतिर सल्किन थालेका थिए । संगठनमा रहेका धेरै नेता कार्यकर्ताहरु हरतहबाट माओवादीको संगठनमा विस्तारै संगठित हुन थाले । माओवादीहरुले एमालेलाई तारो बनाएका कारण संगठन विस्तार र संगठनका काम कारबाहीहरु प्रभावकारी रुपमा चल्न सकिरहेका थिएनन्, त्यसबेलाका एमालेकालिन संकटको नेतृत्व गर्नुभएको थियो, तत्कालिन महासचिव माधवकुमार नेपालले ।
आफूलाई एमालेको विरासतको हिरो सम्झिने एकथरि नेताहरुले माधवकुमार नेपालले पार्टी बिगारेको र कमजोर भएको अभियोग लगाइरहेका छन् । नेतृत्वको सवालमा बहस चलिरहँदा उनीहरु पार्टीको नेतृत्व १५ वर्षसम्म गरेर कमजोर बनाइरहेको बताइरहेका छन् । यो अभियोग हो । यो राजनीतिक स्टन्ट हो । यो राजनीतिक प्रत्यारोपमा सत्यता छैन । १५ वर्षसम्म मुलुकमा एमालेको बलियो स्थान सुरक्षित गर्न पार्टी नेतृत्व र संगठित एमाले कार्यकर्तामाथि नै प्रहार हो । माओवादी द्वन्द्वका समयमा संगठनभन्दा बाहिर बसेर, लुकेर हिंडेकाहरु अहिलेको एमाले देखेपछि विभिन्न अभियोग लगाउन थालेका छन् ।
माओवादी आन्दोलन उत्कर्षमा पुगेका समयमा हरप्रकारका अपराधिक क्रियाकलाप गर्ने, गैरराजनीतिक मान्यता राख्ने र शक्तिको पछि दौडिनेहरु सबै माओवादीतिर लस्सिए । राम्रा र विचार सुयोग्य नेताहरु पनि त्यतातिर लहस्सिएका थिए । ०५२ देखि ०६२ सम्मको एमालेको यात्रा दु:खद र कठिन थियो । त्यस बेलाको नेतृत्वले पार्टीलाई बलियो बनाएर जोगाई राख्नु नेतृत्वको सवलता हो । माओवादीको उभार आएका बेला अघिल्लो संविधानसभाको निर्वाचनमा पनि पार्टीको भूमिका, अवस्था खुम्चिएको होइन । ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेसको स्थिति पनि दोस्रो थियो र एमालेको तेस्रो । लामो समय भएको थियो, जनताको मतको परीक्षण नभएको । एमाले सिध्याउन लागिपरेका केही अवसरवादीहरु ज्ञानेन्द्रका कोटामा पुगे, कोही ज्ञानेन्द्रको जपना गरेर बसे । दरबारमा पार्टी बुझाएर खोरभित्र बसेर लोकतान्त्रिक गफ पनि गरे, गणतन्त्रको विरोध गरिरहेका थिए । यद्यपि, जनता र संगठित सदस्यहरुले पार्टी कमजोर बन्न दिएका थिएनन् । आठौं महाधिवेशनबाट पार्टीमा लोकतान्त्रिक पद्दतिको विकासका चर्चा भए । झलनाथ खनाल अध्यक्षमा निर्वाचित हुनुभयो र पार्टी एक ढंगबाट अघि बढ्यो । संविधानसभाको दोस्रो निर्वाचनमा सहभागी भइयो र पार्टीको भूमिका दोस्रो अवस्थामा आइपुग्यो ।
सवल र विचारसहितको नेतृत्वका लागि संधै सकस हुन्छ । नेतृत्व लिनु सहज विषय होइन, त्यसले आमकार्यकर्ताको भावनालाई बुझेर पार्टी हितका लागि काम गर्नसक्नुपर्छ । सधैं पार्टीको फरक धारमा बस्ने, जिम्मेवारीबाट टाढा बस्ने र अभियोग लगाउने कामले मात्र पार्टीको भूमिका र भविष्यको अन्दाज हुँदैन । आठौं महाधिवेशनको पराजयपछि पनि अभियोगहरु लागिरहेको थियो । तर, ती अभियोगको कुनै तुक हुने थिएन, भएन पनि ।
नवौं महाधिवेशनको सन्दर्भमा
यतिबेला नेतृत्व हस्तान्तरणको सवाल एकथरिले व्यापक गरेका छन् । नेतृत्व हस्तान्तरण भनेको के हो ? आठौं महाधिवेशनमा पराजित भएको उम्मेदवारलाई नवौं महाधिवेशनमा टीका लगाएर नेतृत्व दिने हो ? अथवा उनले पनि छाडेर नयाँ पुस्तालाई नेतृत्व दिने हो ? यसको व्याख्या र स्वरुप कस्तो हुन्छ ? यस्ता वेतुकका राजनीतिक कुराकानीको अर्थ हुँदैन । नवौं महाधिवेशनमा प्रष्टसँग एउटा युवा शक्तिको समर्थनको टीम र अर्को परम्परावादी र अवसरवादीहरुको टिम छुट्टिएको छ । यी दुई टिमको बहस, छलफल र प्रतिष्पर्धा हुने नै हो । नेकपा एमालेको आसन्न महाधिवेशनको राजनीतिक प्रस्ताव, त्यसमा उतारिएका विचारहरु युवा टिमले स्थापित गरेका मान्यताहरु छन् । अनि, नेकपा एमालेको संस्थागत नारा पनि छ, ‘जसको नीति उसको नेतृत्व’ । जब स्थापित नीति युवा टिमको भएपछि नेतृत्व पक्कै पनि युवा टिमको नै हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यद्यपि, एमालेमा रहेका युवा शक्तिले लोकतान्त्रिक पद्दति, लोकतान्त्रिक मान्यता र प्रतिस्पर्धात्मक व्यवस्थालाई स्वीकार गर्छन् ।
पार्टी र राष्ट्र ‘वायुपङ्खी बेग’ झैं गतिशील बनाउन आवश्यक रहेको अवस्थामा नवौं महाधिवेशनले मुलुकको नेतृत्व गर्न सक्ने सर्वस्वीकार्य नेताको खोजी गरेको छ । महाधिवेशनले चुनौतीको सामना गर्न सक्ने गतिशील नेतृत्व चयन गर्नेछ । त्यसका लागि ठाउँठाउँबाट एमालेका प्रभावशाली कार्यकर्ताहरु प्रतिनिधिका रुपमा आइसकेका छन् । दुई हजार २१४ प्रतिनिधि आइसकेका छन्, जसले एमालेको भावी नेतृत्वको दाबी गर्दैछ । मेची–११९, कोसी–१४८, सगरमाथा–८८, जनकपुर–८९, नारायणी– १४१, बागमती–१३२, उपत्यका–१०८, गण्डकी–१२७, लुम्बिनी–१८९, धौलागिरि–४८, राप्ती– ७४, भेरी–१२०, कर्णाली–५३, सेती–१०३, महाकाली–६१, केन्द्रीय कार्यालय र विभाग–२३, भारत प्रवास–३४, जनसङ्गठन–२०२, सम्पर्क विशेष–३४, अञ्चल समन्वय कमिटी–१७, प्रवास (भारतबाहेक)–२४ जना रहेका छन् । एमालेको नयाा नेतृत्व चयनका लागि आएका सबै विवेकशील र पार्टीको भविष्यका बारेमा सोच्न सक्ने प्रतिनिधि छन् । जसले विचार स्थापित गराउने पथमा एमालेको नेतृत्व र टिमलाई सहयोग गर्नेछन् ।
अस्वस्थ्य बयानबाजी, अस्वस्थ्य शरीर र अस्वस्थ परिकल्पना संगठन सञ्चालनका लागि समस्या हुन्छ । अझ कम्युनिष्ट पार्टीमा त झनै समस्या । पार्टी भनेको संगठन, सुयोग्य नेतृत्व र कार्यकर्ताहरुको मानमर्दनमा चल्छ । विश्वका कम्युनिष्टहरुको मान्यता पनि यही छ । माक्र्स वा लेलिन सबैले अनुशासित कार्यकर्ता र अनुशासित नेताहरुबाट मात्र कम्युनिष्ट पार्टीको उद्देश्य पुरा हुन सक्ने बताए र त्यहीअनुसारको दर्शनको विकास गरेका थिए । हामी सोही दर्शनलाई टेकेर कम्युनिष्ट पार्टीको भूमिकालाई प्रभावकारी बनाउने प्रयत्नमा छौं । तर, उग्र दक्षिणपन्थी व्यवहारमा उत्रिने खतराबाट पार्टीलाई नवौं महाधिवेशनले जोगाउनुपर्छ ।
अबको एमाले नयाँ पुस्ताको बहुमत संगठन सञ्चालनका मुख्य ठाउँमा आउने प्रकारको हुनुपर्छ । एक कार्यकाल एक पदमा रहने र सो पदमा आफूले पाएको जिम्मेवारीबाट पार्टीको भविष्यलाई प्रभावकारी बनाउने पुस्ताको जन्म नवौं महाधिवेशनले गराउनेछ । यो महाधिवेशन भलै वर्षाको समयमा हुँदैछ तर यसले खहरे नेतृत्व होइन, निरन्तर विचारमा बगिरहने नदीजस्तो नेतृत्वको स्थापना गराउनेछ ।
महाधिवेशनका सन्दर्भमा नेतृत्वको बहससँगै हाम्रो मुद्दाको विषय पनि गहन रुपमा छलफल हुनुपर्छ । युवा नेतृत्व, पुस्ता हस्तान्तरणको विषयमा बन्दसत्रभित्र कुरा उठाउनुपर्छ । कम्युनिष्ट पार्टी भनेको चीनको जस्तो हुनुपर्छ । हरेक महाधिवेशनमा स्थायी समिति सदस्य, पोलिटब्युरो र नेतृत्वमा युवाको महत्वलाई संस्थागत गरी पार्टी निर्माण र नेतृत्वमा सहभागिता गराउने प्रकारको । त्यसैले हामीले अहिले पनि भनिरहेका छौं, एमालेको आगामी खुड्किलो चिनियाँ मोडेलको पार्टीका रुपमा विकास हुनुपर्छ, यस विषयमा बन्दसत्रभित्र घनिभूत छलफल अनिवार्य छ । मैदानमा धेरै युवा साथीहरु एमालेको रुप फेर्नका लागि उत्रिने प्रयत्नमा हुनुहुन्छ, धेरै युवाहरुले आफ्नो जीवनका उर्बर समय एमाले निर्माणका क्रममा खर्च गर्नुभएको छ । अब पक्कै पनि त्यो समयको माग, समयको आशा र अपेक्षालाई नवौं महाधिवेशनले सम्बोधन गर्नेछ र बहुसंख्यक युवाहरुलाई नेतृत्व पंक्तिमा ल्याउनेछ । एमाले महाधिवेशन दुनियाँका लागि फरक र पृथक सन्देशका रुपमा सम्पन्न गर्नु र गराउनु सबैको कर्तव्यका रुपमा देखिएको छ ।
(लेखक युवासंघका पूर्वमहासचिव हुन् )