नेपाली उद्धारका लागि परराष्ट्रको टोली इराक जाँदै

काठमाण्डु टुडे २०७१ असार १७ गते १:५१ मा प्रकाशित

काठमाण्डु, १७ असार – इराकको टिर्किट सहरमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न समस्या भएको छ । उनीहरुको उद्धार गरेर नेपाल ल्याउन मंगलबार परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिघि सहसचिव अर्जुनकान्त मैनाली कुवेत जाँदै छन् ।

टिर्किट सहरमा एक ठाउँमा तीनजना र अर्को ठाउँमा चारजना गरी दुई समूहमा नेपाली लुकेर बसिरहेका छन् ।  परराष्ट्रका अनुसार एक समूह एक हस्पिटलमा लुकेर र अर्को समूह रोजगारदाताले उपलब्ध गराएको स्थानीयको घरमा छन् । उनीहरुलाई उद्धारका लागि नेपाल सरकारले इराकस्थित अन्य मित्रराष्ट्रका दूतावाससँग पनि सहयोग मागेको छ ।

नेपाली मिसन नहुँदा बग्दाददेखि एक सय ४० किलोमिटर उत्तरपश्चिमस्थित टिर्किटमा रहेका नेपालीको तत्काल उद्धार गर्न नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुले उद्धारका लागि नेपाल सरकार, आइओएम, आइसिआरसी, रेडक्रम लगायतका अन्तर्राष्ट्रिय संघसंगठनसँगपनि आग्रह गरेको छ ।

‘हाम्रो मिसन त्यहाँ छैन । फिल्डमा आधारित भएर संयोजन गर्दा जति सजिलो हुने हो लामो दूरीमा बसेर सूचना लिने काम मात्रै कठिनाइ भएको हो, परराष्ट्रका प्रवक्ता दिपक धितालले भने,’ठ्याक्कै अवस्था के हो बुझ्न पनि गाह्रो छ । त्यसैले उद्धारमा ढिलाइ भएको हो ।’आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us